४ असार २०८३ बिहीबार
image/svg+xml
समाज

भिड र फाेहाेरले सगरमाथा संरक्षण र आरोहणमा चुनाैती

सगरमाथा सफल आरोहणको ७३ वर्ष पुगेको छ । सन् १९५३ को मे २९ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक यो शिखर चुमेपछि अहिलेसम्म नौ हजारभन्दा बढीले आरोहण गरिसकेका छन् । यो कठिन यात्रामा साढे तीन सयभन्दा बढीले ज्यानसमेत गुमाएका छन्। यही सन्दर्भमा यो शिखर आरोहणका क्रममा हुने भिडभाड, आरोहणका क्रममा सिर्जित फोहोर र जलवायु परिवर्तनका कारण हिउँ पग्लने लगायत अनेकौं मौसमी प्रभावका कारण आरोहण बहसको विषय बनेको छ। यो आरोहणलाई बन्द नै गर्नुपर्ने कतिपयको तर्क रहे पनि अधिकांश कीर्तिमानी आरोही यसलार्ई ‘बन्द होइन, व्यवस्थापन गर्नुपर्छ’ भन्नेमा एकमत देखिन्छन्।

‘कसैले चाहेर पनि बनाउन नसक्ने र हामीसँग मात्र भएको सगरमाथा लुकाएर दराजमा राख्ने विषय होइन,’ यसै वर्ष छैटौं पटक आरोहण गरेकी पूर्णिमा श्रेष्ठ भन्छिन्, ‘सगरमाथा स्वयंमा समस्या होइन, आरोहणका व्यवस्थापकीय समस्या हामीले निम्त्याएका हौं, त्यसलाई निराकरण गर्नुपर्छ।’

खुम्बु आइसफलमा हिउँ पग्लेर तर्नै नसकिने खोला बनेको, केही दशकअघिसम्म आधार शिविरमा हिउँ फोडेर पानी खानुपर्नेमा अहिले हिउँ पग्लेर पोखरी बनेको, क्याम्प २ र ३ मा समेत अधिक हिउँ पग्लेको अनुभव आरोहीसँग छ।

त्यति मात्र होइन, सगरमाथाको उच्च हिमाली शिखरमा मौसमी अनिश्चितताले कुन बेला हावाहुरी आउने र मौसम अनिश्चित बन्ने हो भन्ने चिन्ता आरोहणमा हुने गरेको उनीहरू बताउँछन्। पछिल्ला वर्षमा मौसमी अनुकूलताको शिखर चुम्न अनुकूल दिनहरू (वेदर विन्डो) समेत प्रभावित भएको उनीहरू ठान्छन्। ‘यसपटक मेरो मे २६ मा शिखरमा पुग्ने योजना थियो। आठ हजार ५०० मिटरमा म पुगेको थिएँ तर अकस्मात् आएको मौसम परिवर्तनले त्यो बिन्दुबाट फर्केर अर्काे दिन आरोहण गर्नुपर्‍यो,’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्यसमेत रहेका हिमाल आरोही मिङ्मा डेभिड शेर्पा भन्छन्, ‘हिउँ पर्ने, हावाहुरी आउने, पानी पर्ने सिजन अथवा चक्रमा बदलाव आएको छ । यसले स्वाभाविक रूपमा आरोहणलाई प्रभाव पारेको छ।’

जलवायु परिवर्तनले केही वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबईदेखि राजधानी काठमाडौंमा समेत बाढी आएको चर्चा गर्दै सांसद शेर्पा उनले उच्च हिमाली क्षेत्रमा रहेको सगरमाथामा यसको प्रभाव पर्नु स्वाभाविक रहेको ठान्छन्। ‘यो सगरमाथाको मात्र विषय होइन, जहीँतहीँ छ। यसलाई विश्व समुदायले मिलेर सम्बोधन गर्नुपर्छ,’ उनी भन्छन्।

यसपटक ३२औं पटक आरोहण गरेर कीर्तिमान कायम गरेका ५६ वर्षीय कामिरिता शेर्पा आरोहण अनुमतिलाई घटाउनुपर्नेमा जोड दिन्छन। यस वर्ष वसन्त क्रृतुको आरोहणका लागि सरकारले ४९५ टोलीलाई अनुमति दिएको थियो। यस वर्ष एकै दिनमा (मे २७) कुल २७४ आरोही शिखर पुगेर रेकर्ड नै बनेको छ। ‘जोकोहीलाई आरोहण अनुमति दिनुहुँदैन। यो वर्ष जतिलाई दिइयो, त्यसलाई आधा घटाउन सकिन्छ। जोकोहीले अनुमति पाउँदा आरोहणका क्रममा जोखिमसमेत बढ्छ,’ उनी बताउँछन्। उनका अनुसार सगरमाथा चढनुअघि सात हजारमाथिका शिखर चढ्नुपर्ने प्रावधान रहे पनि त्यसको कार्यान्वय हुन सकेको छैन। आरोही श्रेष्ठ ‘सगरमाथालाई सम्मान’ जरुरी रहेको ठान्छिन्। ‘शरीर, सोच, प्रशिक्षण पूर्ण रूपमा तयर भएपछि मात्र आरोहणमा जानुपर्छ, यसले जोखिम घट्छ,’ उनी भन्छिन्।

कामिरिता शेर्पा दुई वर्षसम्म आरोहण बन्द गरेर भए पनि सगरमाथामा विगत सात दशकमा जम्मा भएको फोहोर सफा गर्नुपर्ने र त्यसका लागि सरकारले विशेष पहल गर्नुपर्ने ठान्छन्। तर प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा सगरमाथा आरोहण बन्द गर्न सम्भव नभएको बताउँछन्।

रोजगारी, राजस्व र सर्वोच्च शिखर आरोहणमा रहेको अन्तर्राष्ट्रिय आकर्षणका कारण यो व्यावहारिक नभएको बताउँछन्। स्मरणीय छ, सरकारले यस वर्षदेखि सगरमाथा आरोहणका लागि प्रतिआरोहीले १५ हजार अमेरिकी डलर तिर्नुपर्ने नियम बनाएको छ।

‘हामीले आरोहण टिमलाई जिम्मेवार पार्ने, फोहोर यत्तिकै छाड्न नदिनेलगायत विषयमा नीतिगत व्यवस्थालाई अझ कडाइ गर्नुपर्छ,’ उनी भन्छन्। सगरमाथाको विषयमा वस्तुगतभन्दा पनि अतिरञ्जित समाचारहरू बेलाबेलामा आउँदा त्यसले गलत सन्देश जाने सांसद शेर्पाको तर्क छ। ‘अन्तर्राष्ट्रिय समाचार माध्यमा नेपालका बारेमा प्रकाशन हुृने समाचारमा धेरै सगरमाथासँग सम्बन्धित हुन्छन् । यो चासोको विषय पनि हो तर सुनेकोभन्दा पनि देखेको र वस्तुगत कुरा मिडियामा आउनुपर्छ,’ उनको भनाइ छ।

नेपाल माउन्टेन एकेडेमीकी कार्यकारी निर्देशकसमेत रहेकी अर्की आरोही लाक्पा फुरी शेर्पा पनि डेभिड शेर्पाका विचारसँग सहमति राख्छिन्। ‘आरोहीलाई विषाक्त खाना खुवाउने, फेक रेस्क्यु, अत्यधिक फोहोरलगायतका सनसनीपूर्ण कुराले समाचार बेच्न सकिन्छ तर यी कुरा सही होइनन्,’ उनी भन्छिन्, ‘हो, आरोहणका निश्चित नियम छन्, तिनको कार्यान्वयन हुनुपर्छ।’

त्यसो त विश्वको सबैभन्दा उच्च शिखर सगरमाथा आरोहण जोकोहीका लागि सहज विषय होइन। यो जोखिम र चुनौतीले भरिएको यात्रा हो। यसका लागि अदम्य साहस, आत्मविश्वास, हिमाल चढ्ने सिप र कला आवश्यक पर्छ। सबैभन्दा पहिलो पटक सगरमाथा आरोहण गरेर फर्केपछि एडमन्ड हिलारीले भनेका थिए, ‘हामीले विजय गर्न भनेको हिमाललाई होइन, आफूलाई हो।’

 पछिल्ला वर्षमा पैसा भएपछि सगरमाथा चढन सकिन्छ भन्ने भाष्य बनेको र त्यसमा आफू सहमत नरहेको पूर्णिमा बताउँछिन्। ‘हो, सगरमाथा आरोहणमा एकपछि अर्काे कीर्तिमान बनेका छन्, अन्धो व्यक्ति, अपांगता भएकालगायतले आरोहण गरेका छन् तर उनीहरूको हिम्मत महत्त्वपूर्ण हो। त्यसको सम्मान गर्नुपर्छ, उत्सव मनाउनुपर्छ,’ उनी भन्छिन्। पूर्णिमा आफैंले सन् २०२४ मा १३ दिनमा तीन पटक सगरमाथा आरोहण गरेर गिनिज बुकमा नाम दर्ता गरेकी छन्। सगरमाथाले बोल्न सक्ने भएको भए के भन्थ्यो होला भन्ने प्रश्नमा उनी भन्छिन्, ‘तयारी गरेर आउनुस्, यत्तिकै नआउनुस्। म पग्लँदै छु, मेरो संरक्षणमा सबैले मिलेर काम गर्नुस्।’

प्रकाशित: १५ जेष्ठ २०८३ ०९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App