नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं नेपाल पुलिस क्लबका कप्तान आरिफ शेख प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका छन्।
जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा कार्यरत शेखलाई उनको खेल कौशल र योगदानको कदर गर्दै बुधबार पदोन्नति गरिएको हो।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक समारोहका बिच प्रतिष्ठानका कार्यकारी निर्देशक एवं एआईजी सिद्दि विक्रम शाहले शेखलाई दर्ज्यानी चिह्न सुशोभन गरे।

प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ३९ बमोजिम उनलाई विशेष बढुवा प्रदान गरिएको हो।
प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाको मिति २०८३–०१–११ गतेको पत्रादेशानुसार शेखलाई जवानबाट सहायक हवल्दार पदमा बढुवा गर्ने निर्णय भएको थियो।

सोही कार्यक्रममा नेपाल क्रिकेट संघको आयोजनामा हुने ‘प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिता २०२६–२७’ का लागि नेपाल पुलिस क्लबको टोलीलाई खेल सामग्री समेत हस्तान्तरण गरिएको छ।
माया ग्रुप यूके र नेपाल प्रहरी शारीरिक सुगठन तथा खेलकुद शिक्षालय बिच भएको सम्झौता अनुसार प्राप्त सामग्रीहरू खेलाडी तथा अफिसियलहरूलाई प्रदान गरिएको हो।
प्रकाशित: २३ वैशाख २०८३ १६:१८ बुधबार





