२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै दम्पतीले बेचे मिर्गौला..

कतिपय मानिसहरू गरिबीका बाबजुद हाँसीखुसीका साथ बाँचिरहेका हुन्छन्। त्यस्ता मानिसका परिवारमा अभावबिच पनि सुखको अनुभूति प्राप्त भइरहेको हुन्छ। तर कहिलेकाहीँ अरूलाई अति विश्वास गर्दा सुखद वातावरण पनि दुखमा परिणत हुन बेरै लाग्दैन।

नुवाकोटका एक दम्पतीको अवस्था यस्तै बन्न पुगेको छ। अरूको उक्साहटमा परेर पतिपत्नीले नै मिर्गौला बेचेपछि त्यस्तो परिस्थिति बन्न पुगेको हो।

‘मान्छेलाई दुई वटा मिर्गौलाको आवश्यकता नै पर्दैन। एउटै मिर्गाला भए पनि आरामले बाँच्न सकिन्छ। बिनाकाममा एउटा मिर्गौला शरीरमा किन राख्ने नि ?’ चिनेजानेकै समीर नेपाली भन्नेले उनीहरूलाई फकाउँदै भनेका थिए, ‘मान्छे धर्म गर्न मन्दिर जान्छन्। मिर्गौला दान गरे त्यसै धर्म हुन्छ।’

मिर्गौला दान गर्दा राम्रो रकम पनि आउने आश्वासन समीरले दिएपछि नुवाकोटका ३९ वर्षीय पुरुष र उनका पत्नीले गत वर्ष मिर्गौला बेचेका थिए।

मिर्गौला बेच्ने ती पुरुष वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेर सात वर्षपछि घर फर्किएका थिए। त्यसपछि दुई छोरा र पत्नीका साथ उनले दुःखजिलो गर्दै उनले परिवार चलाउँदै आएक थिए। त्यो परिवारका चार सदस्य यति खुसीका साथ बाँचिरहेका थिए कि उनीहरूलाई गरिबीको कुनै पर्वाह थिएन।

परिवार चलाउन काठमाडौंका विभिन्न गार्मेन्टहरूमा पतिपत्नी सिलाइको काम गर्दै आइरहेका थिए। नुवाकोटस्थित आफन्तको घर जाँदा नजिकैको छिमेकी समीर नेपालीसँग भेट हुनु नै उनीहरूका लागि दसा भइदियो।

‘मैले धेरै जनाको मिर्गौला निकालिसकेको छु। सबैले राम्रै पैसा कमाएका छन्। एउटा मिर्गौला दिएर आफ्नो शरीरमा कुनै हानि हुने होइन। बरु त्यो मिर्गौला हालेर अरू मानिसले नयाँ जीवन पाउने हुनाले धर्म पनि हुन्छ,’ समीरले फूलबुट्टा भरेर यस्तो कुरा गर्दै त्यो दम्पतीलाई फकाइरहे।

समीरको कुरामा बहकिएपछि सिलाइबुनाइको काम गरेर बिहान–बेलुकाको छाक आरामले टार्दै सुखी जीवन बिताइरहेका दम्पतीले दुःखका दिन त्यही बिन्दुबाट सुरु भएको थाहै पाएनन्।

समीरले दम्पतीलाई प्रलोभनमा पार्न आश्वासन थप्दै गए, ‘अब तपाईंहरूको दुःखका दिन गए। त्यो जाबो गार्मेन्टमा काम गरेर कति नै पैसा हुन्छ र ? मिर्गौला दान गरे धेरै पैसा कमाउन सकिन्छ। हाम्रो शरीरमा भएका दुई वटा मिर्गौलामध्ये एउटा नभए अर्कोले राम्रै काम गरिहाल्छ क्यारे।’

गत वर्ष नै मिर्गौला बेचिसकेका ती पतिपत्नीले यसरी आफूहरूलाई समीरले प्रलोभनमा पारेर बर्बाद बनाएको पीडा मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिने क्रममा बताएका थिए।

त्यसक्रममा एकपछि अर्को गर्दै रहस्यहरू खुल्दै गए। मिर्गौला बेच्ने कुराकानी भइरहँदा सुरुमा पत्नीले भने मानेकी थिइनन्। उनले त उल्टै पतिलाई गाली गरेकी थिइन्।

समीरले देखाएका प्रलोभनमा उनीहरू फस्दै गए। अन्ततः सँगै मर्ने सँगै बाँच्ने कसम खाएर दुवै एकएक वटा मिर्गौला बेच्न तयार भए। त्यसपछि ‘ब्लड ग्रुप’ पत्ता लगाउन ललितपुरस्थित लगनखेलमा नाम थाहा नभएको क्लिनिकमा पीडक समीरले भनेबमोजिम नै उनीहरूले जाँच गराए। त्यो दम्पतीलाई जसरी भए पनि भारत पुर्‍याउन समीर हतारिएका थिए।

एउटा मिर्गौलाको ६ लाख रुपैयाँ दिने भन्दै समीरले उनीहरूलाई गत वर्षको साउनमा हतारहतार गर्दै भारत लैजाने सुरसार कसेका थिए। अझै अरू कोही मिर्गौला दिने मान्छे खोजे प्रतिव्यक्ति २५/३० हजार रुपैयाँ पाउने प्रलोभन पनि ती पतिपत्नीलाई देखाइएको थियो।

समीरले भारत लैजान हतार गरेको देख्दा उनीहरू डराएका थिए। पीडितहरूले ब्युरोलाई बताएअनुसार उनीहरूलाई समीरले धेरै कुरामा जबर्जस्ती गर्न पनि थालेका थिए।

‘हामीले भन्यौं– हामीलाई यसरी जबर्जस्ती गरेर नलैजानुस्। हामी अहिले जाँदैनौं। पछि विचार गरौंला। तर उसले हामीसँग उल्टै मेडिकल जाँच गरेको एक जनाबराबर ३५ हजार रुपैयाँका दरले ७० हजार रुपैयाँ दिर्नुपर्ने बतायो,’ ती पतिपत्नीले ब्युरोलाई भने।

समीरलाई ७० हजार रुपैयाँ तिर्नुपर्ने डरले ती पतिपत्नी भारत जान राजी भए। ब्युरोमा उजुरी दिने क्रममा उनीहरूले भने, ‘तारन्तार पैसा माग्न थालेपछि बाध्य भएर भारतस्थित हैदराबादमा नाम थाहा नभएको अस्पतालमा हामीलाई पुर्‍याइयो। त्यहाँ विभिन्न औषधी चलाएर बेहोस भएपछि हामी बुढाबुढीका मिर्गौला निकालिए।’

मिर्गौला निकालिएपछि २० हजार रुपैयाँ हातमा थमाएर बाँकी पैसा काठमाडौं पुगेपछि दिने भन्दै उनीहरूलाई फर्काइयो। समीरको विश्वासमा परेर उनीहरू काठमाडौं फर्किए। पछि समीरले गरेको कुराकानीबाट उनीहरू झनै घाइते भए।

‘तपाईंहरूको उमेर बढी भएकाले मेडिकल रिपोर्ट मिलाउन धेरै खर्च लाग्यो। त्यो पैसा तपाईंहरूले पाउने रकमबाट काटेर दिन्छौं। तपाईंहरू काठमाडौं पुग्दा हातैमा पैसा पर्छ,’ समीरले भनेका थिए।

मिर्गौला निकालेको घाउ निको नहुँदै समीरले भनेको कुराले अर्को चोट लागेको उनीहरूले बताए। काठमाडौं आएलगत्तै उनीहरूले समीरलाई सम्पर्क गरे। ‘पैसाको पिर गर्नुपर्दैन, भारतमा मिर्गौला हाल्ने मानिसले रकम नपठाएको हुँदा अहिले हातमा पैसा नपरेको हो,’ समीरले त्यो दम्पतीलाई सम्झाउँदै भने।

मिर्गौला निकालेपछिको उनीहरू कमजोर हुँदै गए। काठमाडौं फर्केर पुनः गार्मेन्टमा काम गर्न थालेका उनीहरूलाई पेटको बायाँ भाग धेरै दुख्ने, वाकवाकी लाग्ने, रिँगटा चल्नेजस्ता समस्याहरू देखिएपछि काम नै छाडेर उनीहरू समीरलाई खोज्न थाले। तर समीर सम्पर्कविहीन भए।

‘हामीलाई धेरै गाह्रो भएपछि समिरलाई सम्पर्क गर्न खोज्दा उसको फोन अफ थियो। कति खोज्यौं तर केही सिप लागेन। हामी दिनप्रतिदिन गल्दै थियौं। बिरामी परेर ओछ्यानमै पर्ने अवस्था आएपछि समीरको खोजतलासका लागि अनुरोध गर्दै ब्युरो धाएका हौं,’ ब्युरोमा उजुरी दिने क्रममा ती पतिपत्नीले भने।

ब्युरोका प्रहरी एसएसपी कृष्ण पंगेनीका अनुसार नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक र काठमाडौंस्थित बौद्ध नारायणटारका धेरै मान्छेले मिर्गौला बेच्ने गरेका छन्।

मिर्गौला बेच्ने काम प्रायः सहमतिमै हुने गरेको छ। मिर्गौला बेचेर पूरा पैसा नपाएका र स्वास्थ्यमा विकराल अवस्था आएपछि मात्र ब्युरोमा उजुरी आउने गरेको उनले बताए।

‘स्वास्थ्य अवस्था गम्भीर नभए वा मिर्गौला बेचेर पूरा पैसा पाए ब्युरोमा उजुरी नै आउँदैन,’ उनले भने, ‘गाउँगाउँमा यस्ता समस्या धेरै छन्। प्रहरीकोमा उजुरी दिनेको संख्या त एकदमै न्यून हो। पीडित प्रहरीकोमा आउनेभन्दा पनि प्रहरी उल्टै पीडित खोज्दै हिँड्नुपर्ने अवस्था छ। यस्ता घटनाका पीडितहरू धेरै प्रहरीकोमा आउन सकेकै छैनन्।’

स्वास्थ्यमा असर नपर्ने, राम्रो आम्दानी हुने, जीवनयापन सहजै चल्नेजस्ता यावत् प्रलोभन देखाएर मिर्गौला बेच्नेको संख्या बढेको एसएसपी पंगेनी बताउँछन्। विशेष गरेर मिर्गौला बेच्नु र किन्नु अपराध हो भन्ने धेरैलाई थाहा छैन। तर मिर्गौला किनबेचमा संगठित अपराध हुने धेरै गरेका छन्। आर्थिक अवस्था कमजोर भएका परिवार नै यस्ता घटनामा मुछिएका हुन्छन्।

पैसा कमाउने आशामा शरीरका अंग नै बिक्री गर्न खोज्नु आफैंमा दुःखद कुरा हो। आर्थिक वर्ष २०७५/७६ देखि २०८१/८२ सम्म ६ वर्षको अन्तरालमा नेपालभर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी एक हजार एक सय एक वटा मुद्दा दर्ता भएका छन्।

जसमा मानव बेचबिखनसम्बन्धी दुई सय ६, मानव ओसारपसारसम्बन्धी चार सय ८०, वेश्यावृत्तिमा तीन सय ७५, मानव अंग झिक्ने १५ र मानव तस्करीका २५ वटा छन्।

त्यस्तै ब्युरोमा मात्रै विभिन्न प्रकृतिका तीन सय ६३ वटा मुद्दा दर्ता भएका छन्। हालसम्म ब्युरोले एक हजार ६ सय जनाको उद्धार गरेको तथ्यांक छ। त्यसमा महिला एक हजार एक सय २७, बालिका एक सय ८८, पुरुष दुई सय ४४ र बालक ४१ जना छन्।

प्रकाशित: २३ आश्विन २०८२ २१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App