‘जेन जी’ पुस्ताको आन्दोलनमा भएको बर्बर दमन र २० जना प्रदर्शनकारीको मृत्युपछि देशभरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘डिजिटल ब्ल्याकआउट’ अभियान सुरु गरेका छन्।
सरकारको दमनप्रति ऐक्यबद्धता जनाउँदै र मृतकप्रति शोक व्यक्त गर्दै हजारौं प्रयोगकर्ताले आफ्नो प्रोफाइल तस्बिर कालो बनाएका छन्। यही चौतर्फी दबाब र नैतिक संकटका बीच गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।
सोमबार भएका प्रदर्शनहरूमा काठमाडौंमा १८ र इटहरीमा दुई गरी २० जना युवाले ज्यान गुमाएपछि देश शोकमा डुबेको छ। प्रदर्शनका क्रममा २५६ जना घाइते भएका छन्। जसमध्ये २२ जनाको अवस्था अझै गम्भीर रहेको बताइएको छ।
निर्दोष युवा र स्कुले बालबालिकासमेत प्रहरी दमनको सिकार भएको भन्दै नागरिक स्तरमा आक्रोश चुलिएको छ। यही आक्रोश सामाजिक सञ्जालमा ‘ब्ल्याकआउट’ का रूपमा पोखिएको हो।
प्रयोगकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको समेत राजीनामा माग गरिरहेका छन्।
चौतर्फी दबाब र जनआक्रोशका बीच गृहमन्त्री रमेश लेखकले भने केहीबेर अघि पदबाट राजीनामा दिएका हुन्।
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र देशमा व्याप्त भ्रष्टाचारको विरोधमा सोमबारदेखि ‘जेन जी’ पुस्ताले देशव्यापी प्रदर्शन सुरु गरेको थियो।
शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन प्रहरी दमनपछि हिंसात्मक बन्न पुगेको हो। देशका विभिन्न सहरहरूमा अझै पनि तनावपूर्ण स्थिति कायमै छ भने ‘डिजिटल ब्ल्याकआउट’ अभियान सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ।
प्रकाशित: २३ भाद्र २०८२ २०:२५ सोमबार





