जग्गा प्लट मिलान गरिदिने भन्दै घुस मागेको आरोपमा नापी अधिकृत र सर्भेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
जग्गा हालसाविक गरी प्लट मिलान गरिदिने बहानामा सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुस मागेको अभियोगमा कलंकी नापी कार्यालयका तत्कालीन सर्भेक्षक अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नं. ९ (साविक मच्छेगाउँ –ग) मा रहेको जग्गा हालसाविक तथा प्लट मिलानका लागि सेवाग्राही नापी कार्यालय पुगेकामा सर्भेक्षक श्रेष्ठ र नापी अधिकृत पार्धेले सेवाग्राहीसँग ५० हजार रूपैयाँ घुसररिसवतको बार्गेनिङ गर्दै दुःख हैरानी दिएका अख्तियारको ठहर छ।
अनुसन्धानका क्रममा उनीहरूले आफूहरू कानुनी कारबाहीबाट जोगिने बदनियत राखेर सो रकम स्वयं नबुझी कार्यालय सहयोगीमार्फत लिन मन्जुर गराएको पुष्टि भएको अख्तियारले जनाएको छ।
उनीहरू दुवै जनासँग भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम ५० हजार रूपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायको मागदाबी गरिएको छ।
प्रकाशित: २२ भाद्र २०८३ १४:२० सोमबार





