५ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

१२ औँ शताब्दीको करुवासहित तामाका मुद्रा बरामद

कपिलवस्तु नगरपालिका वडा नम्बर ५ बभनीस्थित स्थानीय कृषक रामराज यादवको खेतमा प्राचीन तामाका सिक्कासहित करुवा फेला परेको छ।

एक हप्ता अघि तामाका करुवा यादवले फेला परेपछि छिमेकी रोहित कोरीलाई सो करुवा दिएका थिए। एक हप्तासम्म उक्त करुवा आफूसँग राखेपछि कोरीले दुई दिन अघि करुवा पोखरी छेउमा लगेर राखेका थिए।

पोखरी किनारमा करुवा रहेको हल्ला भएपछि वडाध्यक्ष दिरेप कुमार चौधरीले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको टोलीले करुवा जिल्ला प्रहरी कार्यालयमा लगेर करुवा भित्र रहेका तामाका सिक्का निकाल्ने काम गरिरहेको छ।

करुवा भित्रै टासिएर सिक्का रहेकोले बाहिर निकाल्न गाह्रो परेको र सिक्का निकाल्ने काम जारी रहेको प्रहरी निरीक्षक दीपक कुवरले बताए।

कपिलवस्तु सङ्ग्रहालयकी प्रमुख शान्ति शेर्मा लिम्बुसहित प्रहरीको टोलीले करुवाबाट सिक्का निकाल्ने काम जारी राखेको छ। 

प्रहरी उपरीक्षक मनोहर भट्टले करुवा र सिक्का सङ्ग्रहालयलाई हस्तान्तरण गर्ने बताए।

सङ्ग्रहालयकी प्रमुख शेर्माले फेला परेको सिक्का १२ देखि १३ शताब्दी अघिको पूर्वमल्ल कालको हुने सक्ने बताइन्। सिक्कामा माहोम्मद लेखिएकाले अलाउद्दीनको पालाका हुन सक्ने बताइन्।

मुद्रा र करुवा बारे पुरातत्त्व विभागले अध्ययन अनुसन्धान गरेपछि यसको वास्तविक जानकारी आउने बताइन्। फेला परेको करुवा र सिक्का सङ्ग्रहालयमा सुरक्षित रूपमा राखिने उनले बताइन्।  

प्रकाशित: ५ श्रावण २०८३ १४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App