नगरपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीको सम्झौता रद्ध गरेसँगै सेवा प्रवाह प्रभावित हुन थालेको छ । त्रियुगा नगरपालिकाले ‘माथिको आदेश’मा करार कर्मचारीको सम्झौता रद्ध गरेपछि सेवा प्रवाह प्रभावित भएको हो ।
यसै सिलसिलामा नगरपालिकाको वडा नम्बर १२ का करार कर्मचारी निलम्बनमा परेपछि वडाबासी मार्कामा परेका छन् । करारका कर्मचारीबाट काम चलाउदै आएको वडामा नगरले सम्झौता रद्ध गरेपछि सेवा प्रवाह गर्न कठिनाई भएको वडाध्यक्ष नविन बान्तवा राईले बताए । उनका अनुसार हटाइएको सूचना पाएपछि कार्यालय कर्मचारीविहीन हुँदा वडाले दिने सबै प्रकारका सेवा प्रभावित भएको छ ।
वडाध्यक्ष राईले कर्मचारी अभावमा अहिले सबै काम आफैँले गर्नु परेको बताए । वडाबाट हुने अनलाइन नागरिकता सिफारिस, व्यक्तिगत घट्ना दर्ता, घरजग्गा सिफारिस तथा भुक्तानी आदेशलगायत नियमित गतिबिधिका काम कर्मचारी अभावमा प्रभावित भएको छ । कर्मचारी नभएपछि जनताको सेवा नरोकियोस् भनेर आफैँले काम गर्ने गरेको पनि उनले बताए ।
अहिले निवेदनमा तोक लगाउनेदेखि कम्प्युटरमा पत्र तयार गर्नेदेखि रातो मसीले सही गर्नेसम्मको काम आफैँले गर्नुपरेको उनले सुनाए । वडाध्यक्ष राईले भने, ‘हाम्रो वडामा सुरुदेखि करार कर्मचारी राखेर काम चलाउदै आएकोमा माथिको निर्देशन भन्दै नगरले सम्झौता रद्ध गर्यो । कर्मचारी नभएपछि निवेदनमा तोक लाउने, टाईप गर्ने र सिफारिसपत्रमा सही गर्नेंसम्मका काम आफैँ गर्दै आएको छु ।’
वडाध्यक्ष राईले वडाको कामकाज प्रभावित हुन नदिन तत्काल आवश्यक विषयगत कर्मचारी नगरपालिकासँग पठाइदिन आग्रह गरेका छन् । उनले आफू जनप्रतिनिधि भएकाले सधैँ कार्यालयमै बसेर काम गरिराख्न नसक्ने भएकाले आवश्यव व्यवस्थाका लागि नगरपालिकासँग अपिल गरेको बताए ।
नगर उपप्रमुख महेश्वरी राईले मन्त्रालयको आदेश अनुसार करार र अस्थायी कर्मचारी हटाएको बताएँदै छिट्टै व्यवस्थापन गर्ने काम भईरहेको बताईन् । कर्मचारी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै ‘राइट म्यान एट राइट प्लेस’को सिद्धान्त अनुसार मौजुदा जनशक्ति व्यवस्थापनको प्रयास भइरहेको उनले बताइन ।
त्रियुगाले नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णय अनुसार अर्थ मन्त्रालयको (२०८२ असोज ७) गते तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको (२०८२ असोज ८ को निर्देशन भन्दै स्वीकृत दरबन्दीबाहेकका अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको करार सम्झौता रद्ध गरेको थियो ।
प्रकाशित: ९ कार्तिक २०८२ २०:१९ आइतबार





