१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

जाँच पासको ढिलाइले सीमा क्षेत्रमै अड्किए कन्टेनर

मालबाहक सवारी साधनको जाँच पासमा ढिलाई हुँदा धेरै सवारी साधन सीमा क्षेत्रमा अड्किएका छन्।  

चीनको स्वाशासित क्षेत्र तिब्बतको न्यालम भन्सारले तातोपानी नाका आउन लागेका मालबस्तु बोकेका कन्टेनरहरु जाँचपास गर्न ढिलाइ गरेका कारण अझै सोही क्षेत्रमा ६ सयभन्दा बढि कन्टेनर उतै रोकिएका हुन् ।  

न्यालम भन्सारले मालबस्तु बोकेका कन्टेनर जाँचपास गर्न ढिलाई गर्दा तिब्बतको न्यालम, खासा, रमिते लगायतका स्थानमा कन्टेनरहरु रोकिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिए ।  

सामान जाँचपास गर्न ढिलाई गरेका कारण तातोपानी नाका हुँदै तातोपानी भन्सार पठाउन लागिएको अर्बौको सामान अलपत्र अवस्थामा परेको उनको आरोप छ ।  

न्यालम भन्सारलाई सामान जाँचपास छिटो गराउनका लागि नेपाल सरकारले चीन सरकारसँग कुटनीतिक पहल गर्न बस्नेतले नेपाल सरकारसँग आग्रह गरे ।  

न्यालम भन्सारले दैनिक उपभोग्य बस्तु, लत्ताकपडा, फलफुलजन्य बस्तुभन्दा विद्युतीय सवारीसाधान जाँचपास गर्न प्राथमिकता दिएपछि अरु बस्तु जाँसपासमा ढिलाइ हुनु पुगेको न्यालम भन्सारले जनाएको बस्नेतले बताए ।  

इलेक्ट्रोनिक गाडीहरुको जाँचपासका साथै अन्य मालबस्तु जाँचपास गर्न व्यापारी व्यवसायीले न्यालम भन्सारलाई आग्रह गरेपनि उसले कसैको कुरा सुन्नेमा चासो नदिएको व्यापारीहरुले जनाएका छन् ।

असार २४ गते केरुङ नाकाको मितेरी पुलसहित संरचना बाढीले बगाएपछि त्यहाँको सम्पूर्ण व्यापार तातोपानी नाकामा व्यापार ‘डाइभर्ट’ भएको थियो । तर साउनको अन्तिम सातादेखि तातोपानी नाकास्थित कोदारी सडकखण्डको इको पहिरोले करिब दुई महिना नाका सडक बन्द भएको थियो ।  

अहिले तातोपानी नाका सडकको अवस्थामा सहज हुँदा न्यालम सरकारले मालबस्तु बोकेका कन्टेनर जाँचपासमा ढिलाइ गर्दा व्यापारी व्यवसायीलाई थप मर्का परेको छ । चाडपर्वका समयमा रसुवा र तातोपानी नाका अवरोधले व्यापारी व्यवसायीले मुस्ताङस्थित कोरोला नाकाबाट पनि सामानहरु राजधानी भित्र्याएका थिए ।

फलफुलजन्य र मसलाजन्य बस्तु तातोपानी नाकास्थित इको पहिरो क्षेत्रबाट मजदुरलाई बोकाएर तारिएको थियो ।

अहिले पनि फलफुजन्य बस्तु न्यालम भन्सारमा थन्किएको छ । अन्तर्राष्ट्रिय अभ्यासअन्तर्गत फलफुलजन्य बस्तुलाई ‘ग्रिन च्यानल’ प्रणालीअन्तर्गत छिटो क्लियरेन्स गर्नुपर्ने अभ्यास छ । तर न्यालम भन्सारले त्यस्ता बस्तु र सामान जाँचपास गर्न अलमल र ढिलाइ गरिरहेका अध्यक्ष बस्नेतले जानकारी दिए ।  

तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडाँलले तातोपानी भन्सार कार्यालय, नाका सडकमा केही समस्या नभएको भए पनि न्यालम भन्सारले मालबस्तु जाँपास गरेर पठाउन ढिलाइ गरेको बताएका छन् ।  

न्यालम क्षेत्रमा रोकिएका कन्टेनरमा जाडोयामका सामान, कपडा, जुत्ता, इलोक्ट्रोनिक बस्तु, रेडिमेड सामान, विद्युतीय उपकरणलगायतका सामान रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष इन्द्र राउतले बताए । न्यालम भन्सारले दैनिक १५ वटा सङ्ख्यामा कन्टेनर जाँपास गरेर तातोपानी नाका पठाउने गरेको छ । यो सङ्ख्या विगतका तुलनामा अति कम हो । वर्षा अघि ५० देखि ६० वटा कन्टेनर जाँचपास गरेर न्यालम भन्सारले तातोपानी नाकामा कन्टेनर पठाउने गरेको थियो ।  

 

प्रकाशित: २४ कार्तिक २०८२ १५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App