चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित मुख्य शाखा कार्यालयले सञ्चालन गरेको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित भएका छन्।
सीमावर्ती भारतीय बजार रुपैडिहाबाट चामल आयतमा नेपालगञ्ज भन्सार कार्यालयले कडाइ गरेपछि उपभोक्ता सहुलियत दरमा चामल खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सहुलियत बिक्री केन्द्र पुग्न थालेका हुन्।
दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरी नेपालगञ्जमा सहुलियत बिक्री केन्द्र सञ्चालन गरेर सबै प्रकारका चामलमा प्रतिक्विन्टल रु ५०० छुटको व्यवस्था गरेपछि उपभोक्ताको आकर्षण लिमिटेडका सूचना अधिकारी शिवराज घिमिरेले जानकारी दिए। 'चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको केन्द्रबाट चाडपर्व अवधिभर १०० क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको छ”,उनले भने, 'हालसम्म ७५ क्विन्टल भन्दा बढी बिक्री भइसकेको छ।'
घिमिरेका अनुसार बिक्री केन्द्रबाट अरुवा मोटा, अरुवा मध्यम, मध्यम सिल्की, स्टिम मसिनो जिरा र स्टिम जिरा फोर्टिफाइड चामल बिक्री भइरहेको छ। कार्यालयले बजार मूल्यभन्दा कम दरमा विभिन्न प्रकारका चामल बिक्री गर्दै आएपछि उपभोक्ताले खरिदमा प्रत्यक्ष आर्थिक लाभ पाएका छन्।
सहुलियत मूल्यमा बिक्री हुने चामलको दर बजार मूल्यको तुलनामा कम रहेकाले चामल खरिदमा उपभोक्ताको आकर्षण देखिएको उनको भनाइ छ।
एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य रहे पनि उक्त कोटा सकिएपछि बिक्रीवितरण विभाग प्रधान कार्यालय काठमाडौंसँगको समन्वयमा आवश्यक कोटा थप गर्न सकिने सूचना अधिकारी घिमिरेले जानकारी दिए।
प्रकाशित: २३ आश्विन २०८३ १३:२४ शुक्रबार





