३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

डेढदशकसम्म पक्की पुल नबनेपछि झोलुङ्गे पुल निर्माण सुरु

पुल शिल्यान्यास गर्दै सांसद किराती । तस्विरः महेश्वर चामलिङ/राई

निर्माण सुरु भएको डेढ दशकसम्म पनि पक्की पुल नबनेपछि सोही ठाउँमा झोलुङ्गे पुल बन्न थालेको छ।  

१५ वर्षअघि अर्थात् ०६७ देखि निर्माणाधीन जिल्लाको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीको पुल ४ वर्षअघि बाढीले भत्काएपछि अलपत्र परेको ठाउँमा झोलुङ्गे पुल बनाउन लागिएको हो ।  

शिवाईमा ०६७ देखि निर्माण सुरु १२ वर्षमा बनिसक्नै लाग्दा ०७८ असार १९ र साउन पहिलो साता गरि २ पटकको बाढीले १३ मध्ये २ पिल्लर भत्काएपछि अहिलेसम्म अलपत्र छ । भत्केको पुल मर्मत गर्ने कि नयाँ बनाउने भन्ने यकिन नभएकाले स्थानीयबासी अहिलेसम्म हरेक वर्षायाममा त्रियुगा नदीको चपेटामा पर्दै आएका छन् ।  

बाढीले भत्काएको ३ वर्षसम्म पुल मर्मत गर्ने या नयाँ बनाउने टुङ्गा नलागेपछि सो क्षेत्रका प्रदेशसभा सदस्य राजन किरातीले झोलुङ्गे पुल बनाउने योजना अघि सारेका हुन् । बाढीले भाँचेको भागमा ८१ मिटर लम्बाई र १.६ मिटर चौडाइको झोलुङ्गे पुल निर्माण गर्नेगरि सोमबार साँसद किराती (बासु)ले शिल्यान्यास गरेसँगै काम सुरु भएको हो । 

प्रदेश सरकारको सो योजना पूर्वाधार विकास कार्यालय गाईघाटको रेखदेखमा निर्माण गर्न लागेको कार्यालय प्रमुख (डिई) गङ्गासागर यादवले बताए । उनका अनुसार सो पुल निर्माणका लागि प्रदेश सरकारले चालु आर्थिकवर्ष ६० लाख रकम विनियोजन गरेको छ । डिई यादवका अनुसार पुल निर्माण कार्यलाई सहज र पारदर्शी बनाउन स्थानीय देवनारायण चौधरीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ ।  

पुल शिल्यान्यास गर्दै सांसद किरातीले स्थानीयबासीको दसकौँको ‘सपना’ बनेको शिवाई पुल सकिनै लाग्दा बाढीले बगाएपछि बाढीको कहर खेप्नुपर्ने बाध्यता कम गर्न झोलुङ्गे पुलको योनजा ल्याएको बताए । बाढीले भत्काएको ३ वर्षसम्म पुल मर्मत गर्ने कि नयाँ बनाउने भन्ने यकिन सङ्घीय सरकारले नगरेकाले आफ्नो निर्वाचन क्षेत्रबासीको हितका लागि झोलुङ्गे पुल हाल्न बजेट व्यवस्था गरेको किरातीmले बताए । झोलुङ्गे भए पनि त्रियुगामा बाढी आउँदा पैदल र मोटरसाईकल आउजाउ गर्न सहज हुने सो पुल निर्धारित समयभित्रै सम्पन्न गर्न उनले पूर्वाधार कार्यालयलाई निर्देशन दिए ।  

चौदण्डीगढी ५ का पूर्व वडाध्यक्षसमेत रहेका उपभोक्ता समिति अध्यक्ष चौधरीले झोलुङ्गे पुल नै भए पनि निर्माण गर्न सके त्रियुगामा बाढी आउँदा स्थानीयलाई ठूलो राहत मिल्ने बताए । पक्की पुल बाढीले भाँचेको ४ वर्ष बितिसक्दासम्म मर्मत नभएको र नयाँ बनाउन धेरै पटक आग्रह गर्दै प्रधानमन्त्री, मन्त्री र पुल विभागमा धाए पनि वास्ता नभएका बेला साँसद किरातीले झोलुङ्गे पुलको बजेट छुट्याईदिएकोमा सबै स्थानीय खुसी भएको उनले बताए । चौधरीका अनुसार सो पुलले ५ नं. वडाका सुन्दरपुर, शिवाई, बेल्हील तथा ९ र १० नं. वडाका दक्षिणपूर्वी भेगका बासिन्दा पनि लाभान्वित हुनेछन् ।  

३ सय ५ मिटर लम्बाई र ५ मिटर (पैदल पेटीबाहेक) चौडाईको सो पुल बनाउन भौतिक पूर्वाधार मन्त्रालयले ०६७ सालमा ९ करोड ७६ लाख रुपैयाँमा ठेक्का लगाएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै समयमा काम नसकेपछि पटक पटक म्याद थप्दै जाँदा मूल्य समायोजन (भिओ) गर्दै ११ करोड २७ लाख लागत पुगेको थियो । ०७८ मा पुल सम्पन्न गरेर उद्घाटनको तयारी भईरहेका बेला बाढीले २ पिल्लर बङ्ग्याएपछि ३ पटा स्पान भाँचिएको छ । त्यै भाँचिएको भागमा झोलुङ्गे पुल बनाउन लागिएको पूर्वाधार कार्यालयले जनाएको छ । 

प्रकाशित: १ पुस २०८२ १८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App