९ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

‘लिमचुङबुङ प्रज्ञा प्रतिष्ठान भवन’ निर्माण सुरु

उदयपुरको सबैभन्दा विकट पहाडी लिमचुङबुङ गाउँपालिका प्रज्ञा प्रतिष्ठानले नयाँ भवन पाउने भएको छ। एक वर्षअघि गठन भई सञ्चालनमा ल्याइएको ‘लिमचुङबुङ प्रज्ञा प्रतिष्ठान’का लागि अत्याधुनिक पक्की भवन निर्माण कार्य सुरु भएको हो।

वडा नं. ३ भोयोचुङ दोबाटेस्थित निर्माणाधीन एभरेष्ट भ्यूटावर क्षेत्रमा रहेको गाउँपालिकाकै स्वामित्वको १ रोपनी जग्गामा नयाँ भवन निर्माण सुरु भएको हो। भवन निर्माण गर्न १ करोड ९९ लाख २३ हजार ३ सय ३२ रुपैयाँको प्राविधिक इस्टिमेट तयार भएको थियो। तर निर्माण व्यवसायीबीच प्रतिस्पर्धा गराउँदा मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १ करोड ३९ लाख ८१ हजार ६ सय १० रुपैयाँमा ठेक्का लागेको छ।

प्रमुख प्रशासकीय अधिकृत सन्देश राईका अनुसार भवन आउँदो ८ महिनाभित्र अर्थात् ०८२ असार २२ गतेभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ। सङ्घीय सरकारको सहयोगमा निर्माण हुने अढाई तले भवनको चालु वर्ष भुइँतला निर्माण गर्ने गरी कात्तिक निर्माण सेवा प्रालिले ठेक्का लिएको हाकिम राईले बताएका छन्।

लिमचुङबुङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विश्वराम राईले कार्यालय भवन अभावमा प्रतिष्ठानको कामकाज गर्न समस्या पर्ने गरेकाले भवन छिट्टै निर्माण सक्नुपर्ने आवश्यकता रहेको बताए। भवन नहुँदा गाउँपालिकाको एउटा कोठा लिएर कामकाज गर्ने गरेको र बैठक, सभा सम्मेलन गर्न पनि गाउँपालिकाकै सभाकक्ष प्रयोग गर्नुपरेको सुनाउँदै राईले तोकिएकै मितिभित्र भवन सक्ने गरी काम गर्न आग्रह गरेको बताए।

राईलाई गाउँपालिकाले विगत ८ महिनाअघि अर्थात् ०८१ चैतमा प्रज्ञा प्रतिष्ठान अध्यक्ष नियुक्त गरेको थियो। ४ वर्षे कार्यकालको नियुक्ति पाएका राईले पहिलो वर्षमै भवन निर्माण गरेर गाउँपालिकाको भाषा, साहित्य तथा संस्कार, संस्कृतिको जगेर्ना, प्रवर्द्धन र विकास गर्न लागिपरेको बताएका छन्।

मंगलबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष मेजरकुमार राईले किराती संस्कार अनुसार अदुवासहित जाँड र रक्सी भरिएको जोर वाबु (चिन्डो) र फूल अक्षताले पूजा गर्दै भवनको शिलान्यास गरे। भुइँतलामा एक सय जना सहभागी अट्ने सभाकक्ष र २ वटा कार्यालय कक्षसहित पुरुष तथा महिलाका लागि अलग-अलग शौचालय हुनेछ।

अपाङ्गमैत्री र आधुनिक तथा आकर्षक डिजाइनमा बन्न लागेको भवनका पहिलो र दोस्रो तलामा सभाकक्ष, शौचालय, पुस्तकालय, अध्यक्ष कार्यकक्ष तथा पदाधिकारी र कर्मचारी कार्यकक्षहरू रहने इस्टिमेट रहेको गाउँपालिकाका कर्मचारी ज्ञानेन्द्र राईले बताएका छन्।

प्रकाशित: १० मंसिर २०८२ १२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App