सङ्खुवासभाको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा पहिरो पीडितका लागि आवास निर्माण अन्तिम चरणमा पुगेको छ। सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा आवास निर्माण भइरहेको छ।
विसं २०७७ असार २८ गते राति आएको पहिराले सिलिचोङ–१ का पहिरोबाट ५५ विस्थापित परिवारको खाँदबारी–७ स्थित भैरे डाँडामा घर निर्माण अन्तिम चरणमा पुगेको हो। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले पहिरो पीडितको आवास निर्माणको अनुगमन गर्दै चाँडै काम सम्पन्न गरेर पीडितलाई हस्तान्तरण गरिने जानकारी दिइन्।
करिब दुई वर्षअघि थालिएको पहिरो पीडितको घर निर्माण अन्तिम चरणमा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए। खाँदबारी–७ स्थित भैरे डाँडामा पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माणको काम अहिलेसम्म ९० प्रतिशत सकिएको छ। शुक्रबार आवास निर्माणको अनुगमनमा प्रदेशसभा सदस्य राजेन्द्र कार्की, प्रमुख जिल्ला अधिकारी थपलिया, खाँदबारी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगाई भैरे डाँडा पुगेका थिए।
विभिन्न कारणले रोकिएको–१ बेसिन्दाका ५५ परिवारले घर निर्माणको दोस्रो किस्ता लामो समयपछि भुक्तानी पाएपछि घर निर्माणले गति लिएको थियो। यसका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान निर्णय गरेको थियो। आवास निर्माणका लागि पाँच लाख ५० हजार रूपैयाँ तोकिएको थियो। आवास निर्माणको पाँच लाख ५० हजार रूपैयाँ रकम प्राविधिकको मूल्याङ्कन अनुसार तीन किस्तामा भुक्तानी दिइने छ। पहिरो पीडितका लागि सङ्घीय सरकारले ६० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो।
भैरे डाँडामा ५५ परिवारका लागि ६९ रोपनी जग्गा एक करोड ३० लाख रूपैयाँमा खरिद गरिएको थियो। सिलिचोङ–१ बेसिन्दाका नौ घर विसं २०७७ असार २८ गते राति आएको पहिराले बगाउँदा ११ जना बेपत्ता भएका थिए। रासस
प्रकाशित: २५ आश्विन २०८२ ०६:४६ शनिबार





