जैविक विविधताका लागि महत्वपूर्ण मानिएको वरण्डाभार क्षेत्र अतिक्रमणमा पर्दै गरेको प्रति सरोकारवाहरुले चिन्ता व्यक्त गरेका छन् । बिहीबार भरतपुरमा आयोजित कार्यक्रममा चितवन जिल्लाको मध्ये तथा पश्चिम भागमा पर्ने तराई र पहाड जोड्ने विश्वकै उत्कृष्ट वन्यजन्तुहरुको जैविक करिडोर अतिक्रमणमा परेको भन्दै सरोकारवाहरुले चिन्ता व्यक्त गरेका हुन् ।
वन डिभिजन कार्यालय चितवनका प्रमुख बिष्णुप्रसाद आचार्यले व्यक्ति तथा संघसंस्थाहरुले वरण्डाभार वन अतिक्रमण गर्ने क्रम बढ्दो रहेको बताए । ‘चितवनमा वरण्डाभार क्षेत्र वन्यजन्तु तथा जैविक विविधताका दृष्टिले विश्वकै उत्कृट गन्तव्य बन्न सक्छ तर यहाँको वन गिद्धले सिनो लुछेजसरी लुछिएको छ,’–उनले भने ।
चितवनको वरण्डाभार क्षेत्र भारतको टाइगर रिजर्भ देखि महाभारत जोड्ने करिडोर हो । यसको क्षेत्रफल दश हजार तीन सय २ हेक्टर छ । त्यसमध्ये १४ किलोमिटर लम्बाई र ५ किलोमिटर चौडाई रहेको छ । यही सानो गल्लिबाट विश्वकै दुर्लभ एकसिंगे गैडा, बाघ, हात्ती, चितुवा लगायतका वन्तजन्तुहरु ओहोरदोहोर गर्दछन् । यसलाई पनि विभिन्न व्यक्ति, संस्थाले जग्गाको सदुपयोगका नाममा ठुलो मात्रामा रुख कटानी गर्ने गरेको आचार्यले बताए । ‘देवघाट क्षेत्रमा मठ मन्दिरको नाममा, सामुदायिक वनमा विभिन्न गुम्बा तथा ठुलो मात्रामा विद्युत लाईन कटानी भएको छ,’ उनले भने ‘वन्यजन्तुको करिडोर क्षेत्रमा अन्यत्र कतै नभएको सेतो पुर्जा वितरण गरिएको छ ।’ उनले चितवनको वरण्डाभार क्षेत्र मान्छेको फोक्सो जस्तै बिचमा रहेको बताए ।
प्रस्तवित औद्योगिक क्षेत्र पनि वरण्डाभार क्षेत्रमा पर्ने भएकाले वन्यजन्तुको संरक्षणमा समस्या हुने चिन्ता उनको थियो । शक्तिखोरमा प्रस्तावित १ हजार २ सय हेक्टरको औद्योगिक क्षेत्रले ठुलो नोक्सान पुर्याउने, पानीको श्रोत र घोल दुवै सुक्ने डर छ । यसको विषयमा गम्भीर समिक्षा हुनुपर्ने छ,’ उनले भने ‘वन्यजन्तुको लागि महत्वपूर्ण क्षेत्र मासेर नेपाललाई केही फाईदा हुँदैन । विदेशी पर्यटक वन्यजन्तु हेर्न नेपाल आउने हुन । औद्योगिक क्षेत्र घुम्न कोही आउँदैनन् ।’ औद्योगिक क्षेत्र अन्य स्थानमा बनाउन उनले सुझाव दिएका छन् । वन जंगल नोक्सान गर्दै जाने हो भने विभिन्न रोगको महामारी सृजना हुने उनको भनाई छ ।
उनले वन डढेलो, खुल्ला चरिचरण, वन पैदावार चोरी निकासी, वन्यजन्तुको अबैध शिकार, जथाभावी खनिएका सडकका कारण संरक्षणमा समस्या भएको समेत बताए । ‘वरण्डाभार क्षेत्रमा एउटा सडक भए पुग्थ्यो । तर यहाँ पाँच वटा सडक खोलिएको छ,’उनले भने ‘तिब्र गतिका कारण जंगली जनावारलाई ठक्कर दिने र जंगली जनावारले पनि आक्रमण गर्ने डर बढी हुन्छ ।’
सरकारले २०६८ सालमा वरण्डाभार संरक्षित वनको रुपमा घोषणा गरेको हो । दक्षिको तर्फको चुरे श्रृंखनासँग जोडिएर उत्तर तर्फको महाभारत श्रृंखलासम्म फैलिएको दक्षिणी भाग चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर भारतको बाल्मिकी टाइगर रिर्जभसम्म फैलिएको छ । यसलाई चितवन अन्नपूर्ण भू–परिधि जोड्ने सेतुका रुपमा हेरिन्छ । यहाँ ३२ स्तनधारी वन्यजन्तु तथा ३७२ भन्दा बढी चरा प्रजातिको आवतजावत गर्ने गर्ने उनले बताए ।
यस क्षेत्रमा १७ सामुदायिक वन र ५ वटा धार्मिक वन रहेका छन् । पछिल्लो समय सिमसार तथा तालतलैयाको गुणस्तरमा ह्रास आएको वरण्डाभार वन संरक्षण क्षेत्र परषदका अध्यक्ष दिपक थापामगरले बताए । ‘यस क्षेत्रमा ४ प्रतिशत मात्र घाँसेमैदानको रुपमा रहेको छ । अहिले अनियन्त्रित चरन र मानव अतिक्रमणले घाँसेमैदानको क्षेत्रफल र गुणस्तर दुवैमा ह्रास आएको छ’–उनले भने । अहिले वरण्डाभार क्षेत्रमा नगरपालिकाले फाल्ने फोहोरको कारण पनि वनको हैसियतमा ह्रास आएको उनले बताए । वरण्डाभार क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाले वनमा नै फोहोर लगेर फाल्ने गर्दछन् ।
बागमती प्रदेका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले वन, जल, जमिनको संरक्षणमा नागरिकमा कतव्र्य बोध हुनुपर्ने धारणा राखे । ‘हामीले नागरिकलाई जल जमिनको अधिकारको विषयमा सिकायौँ । कतव्र्य सिकाएनौँ,’मन्त्री केसीले भने ‘नागरिक जिम्मेवार हुने हो भने समस्या हुँदैन ।’ कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले नगरपालिकाले गर्ने कामबाट विमुख नहुने बताएका छन् । संरक्षणकर्मी बासु ढुंगानाले नेपालकै सुन्दर वरण्डाभार रहेको बताउँदै यहाँ पर्यटकको आकर्षण बढाउन सकिने बताए । ‘सौराहामा पाँच लाख पर्यटक आउँछन् । त्यहाँको २० प्रतिशत भएपनि यता अकर्षित गर्न सक्ने हो भने स्थानीय जनताले लाभ लिन सक्छन्,’ उनले भने ‘स्थानीयले आम्दानी गर्न लागेभने वनको आफैँ संरक्षण गर्दछन् ।’
प्रकाशित: १२ चैत्र २०८२ १८:०६ बिहीबार





