म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७ मङ्गलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ।
जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कास्कीले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गरेको हो।
मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताए।
उनका अनुसार नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावियन पर्खाल निर्माण भएको छ। योजना निर्माणका लागि निर्माण कम्पनीसँग २०८२ फागुन १० गते रु. ९९ लाख १९ हजार २९५ मा ठेक्का सम्झौता भएको थियो।
यही असार १९ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेकोमा लक्ष्य अघि नै सम्पन्न भएको हो। इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद उपकरण र मजदुुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर समयमै योजना निर्माण गरेको व्यवसायीले बताएका छन्।
यसअघि गलाघाटमा आयोजना मार्फत विभिन्न चरणमा ५०० मिटरभन्दा बढी लामो पर्खाल निर्माण भइसकेको छ। बेनी बजारको पश्चिमी भागमा रहेको मङ्गलाघाटमा २०० भन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन्।
आयोजनाले बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न विगतदेखि नै आयोजना सञ्चालन भएको छ। बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ।
योजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको जोखिममा रहेका म्याग्दी, मुुस्ताङ र पर्वतका १७ स्थानमा सालबसाली योजनाहरु निर्माण सम्पन्न हुने चरणमा रहेका बताए।
प्रकाशित: १५ असार २०८३ १५:३२ सोमबार

