२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

रुपन्देहीमा १५ हजार घुससहित सशस्त्र प्रहरी जवान रंगेहात पक्राउ

भन्सार छली सामान ल्याउन सहजीकरण गरिदिने भन्दै लिएका थिए घुस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा सशस्त्र प्रहरी बलका एक जवानलाई १५ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको छ।

भारतबाट भन्सार छली गरी अवैध रूपमा कपडा तथा किराना सामान ल्याउन सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट, मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्री रहेका छन्।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, खत्रीले सीमापारिबाट अवैध सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना तथा उजुरी आयोगमा परेको थियो।

सोही उजुरीका आधारमा अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले निगरानी बढाएको थियो। सोमबार जवान खत्रीले सेवाग्राहीबाट पन्ध्र हजार घुस लिइसकेको अवस्थामा टोलीले उनलाई उक्त रकमसहित कोटहीमाई गाउँपालिकाबाटै नियन्त्रणमा लिएको हो।

पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐनअनुसार विशेष अदालतमा मुद्दा दायर गरिने आयोगले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८२ २०:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App