२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

चिसो बढ्यो: हिमालका नौ प्रहरी चौकी सारिए

मनाङ हिमपातपछिको दृश्य ।

हिमपातसँगै चिसो बढेपछि चीनसँग सीमा जोडिएका कर्णालीका नौ वटा प्रहरी कार्यालयहरु स्थानान्तरण गरिएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार डोल्पाका सात र हुम्ला र मुगुका एक–एक प्रहरी चौकी स्थानान्तरण हुँदैछन् ।

‘हिमपातसँगै चिसो बढेकाले ति प्रहरी चौकी जिल्ला सदरमुकाम वा नजिकको अर्को स्थानमा केही समयका लागि सार्ने गरिएको छ,’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालले भने, ‘मानिसको आउजाउ हुने बेला केही प्रहरी चौकीहरु पुनस्थापना हुन्छन् ।’

हुम्लाको हिमालपारीको गाउँमा सीमाका साथै स्थानीयको सुरक्षाका लागि खटिएको प्रहरी टोली सदरमुकाम सिमकोट आइपुगेको छ । नाम्खा गाउँपालिका–६ सुनखानीमा सईको कमाण्डमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत ११ जनाको प्रहरी टोली सिमकोट आइपुगेको उनले जानकारी दिए । ‘हिउँ परेसँगै चिसो बढेको तथा हिउँदको समयमा मानिसको आउजाउ नहुने हुँदा सिमा क्षेत्रको प्रहरी चौकीमा खटिएकाहरुलाई सदरमुकाममा ल्याइएको हो,’ उनले भने ।

नाम्खा–६ लिमीमा तीन वटा गाउँ छन् । तिल, हल्जी र जाँङको सुरक्षाका साथै लाप्चा नाकाबाट हुने अपराधिक घटना रोक्न प्रहरी चौकी स्थापना गरिएको भएपनि हिउँदको समय चौकीका प्रहरीलाई रासनपानीको व्यवस्था गर्नसमेत कठिन हुन्छ । यसरी सदरमुकाम आइपुगेका प्रहरी जेठतिर लिमी फर्किन्छन् । लिमी पुग्ने पाँच हजार मिटर उचाईको न्यालु लेखमा हिउँ परेपछि यो बाटो भएर कसैको पनि आवत–जावत हुँदैन् भने नाका बन्द रहन्छ ।  

प्रवक्ता खनालका अनुसार उपल्लो डोल्पाका ६ प्रहरी चौकी सदरमुकामस्थित दुनैमा सार्न पत्राचार गरिएको छ । माथिल्लो डोल्पाका स्थानीय तहहरु शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ, निजाल गुम्बा, राप र भिजेर तथा डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो र ताक्सी र छार्काताङसोङ गाउँपालिकाको कागकोटमा रहेका अस्थायी प्रहरी चौकीहरु सदरमुकाम दुनै झार्न भनिएको उनले जानकारी दिए ।  

माथिल्लो डोल्पामा चिसो धान्ने बास, बर्दी, सवारी साधन, उपचार सेवा, बिरामी पर्दा उद्दारको व्यवस्था, चुस्त सञ्चार सुविधा, उच्च हिमाली क्षेत्रमा बस्नका लागि प्रोत्साहन हुने प्रकारको तलव, राशन, दुर्गमभत्तालगायत सेवा–सुविधा नभएकाले  हिउँदको समयमा प्रहरी अधिकृत र जवानहरुलाई ज्यानकै जोखिम हुने गरेको छ ।  

यस्तै मुगुको पूर्वी सीमामा रहेको प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीलाई बेसीँ झार्ने तयारी गरिएको छ । मुगुम कार्मारोङ गाउँपालिका–२ मा रहेको सीमा प्रहरी चौकी र त्यहाँ कार्यरत नौजना प्रहरी जवानलाई चितैकुना भन्ने ठाउँमा सार्न लागिएको हो ।

प्रकाशित: १२ कार्तिक २०८२ १७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App