९ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

भारतमा ‘कक्रोच’ तरंग

बेरोजगारी, महँगी र राजनीतिक व्यवस्थाप्रतिको असन्तुष्टिलाई व्यंग्यात्मक शैलीमा अभिव्यक्त गर्ने एउटा अनौठो अभियानले अहिले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ । ‘कक्रोच जनता पार्टी’ (सिजेपी) नामक व्यंग्यात्मक राजनीतिक अभियान केही दिनमै करोडौं युवामाझ लोकप्रिय बनेपछि भारतीय राजनीति र सरकार दुवै चकित बनेका छन् । यसको चर्चा भारतमा मात्र नभई विश्वभर हुन थालेको छ।

सुरुमा केवल मजाक र व्यंग्यका रूपमा सुरु गरिएको यो अभियान अहिले युवाहरूको असन्तुष्टि पोख्ने ठुलो माध्यम बनेको छ । ‘कक्रोच’ अर्थात् साङ्लोलाई प्रतीक बनाइएको यस अभियानले भ्रष्टाचार, बेरोजगारी, परीक्षा प्रणालीमा हुने अनियमितता र राजनीतिक ध्रुवीकरणमाथि कटाक्ष गर्दै सामाजिक सञ्जालमा लाखौं ‘मिम’ र भिडियो पोस्ट गरिरहेको छ । हुन पनि यो अभियानको लोकप्रियता असाधारण गतिमा बढेको छ । गत शनिबार मात्र वेबसाइट र सामाजिक सञ्जाल खाता सुरु गरेको सिजेपीको इन्स्टाग्राम पेजले शुक्रबार अपराह्नसम्म दुई करोड ३० लाखभन्दा बढी फलोअर बनाइसकेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) को सामाजिक सञ्जाल इन्स्टाग्राममा ९१ लाख फलोअर छन् । सिजेपीका संस्थापक अभिजित दिप्केले यो अभियान योजनाबद्ध नभएको दाबी गरेका छन् । भारतका युवामा बढ्दो निराशा र आक्रोशले अचानक यो अभियानलाई उचाइमा पु¥याएको उनको भनाइ छ । ‘युवाहरू अत्यन्त निराश थिए । उनीहरूसँग आफ्ना भावना व्यक्त गर्ने कुनै माध्यम थिएन । उनीहरू सरकारसँग निकै रिसाएका थिए,’ दिप्केले भनेका छन्।

दिप्के राजनीतिक सञ्चार रणनीतिकार तथा अमेरिकाको बोस्टन युनिभर्सिटीका विद्यार्थी हुन् । यो विवादको सुरुआत भारतका प्रधानन्यायाधीश सूर्यकान्तको टिप्पणीबाट भएको थियो । सर्वोच्च अदालतमा भएको एक सुनुवाइका क्रममा उनले केही बेरोजगार युवालाई ‘कक्रोच’ र ‘परजीवी’जस्ता शब्द प्रयोग गरेर टिप्पणी गरेका थिए । ‘रोजगार नपाएका केही युवा कक्रोचजस्तै भएका छन् । कोही सामाजिक सञ्जालमा सक्रिय हुन्छन् । कोही पत्रकारिता गर्छन् र सबैमाथि हमला गर्न थाल्छन्,’ उनले भनेका थिए । यो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि धेरै युवाले त्यसलाई अपमानजनक ठाने।

त्यसपछि प्रधानन्यायाधीशले आफ्नो अभिव्यक्ति गलत रूपमा बुझिएको भन्दै स्पष्टीकरण दिए पनि त्यसले पैदा गरेको आक्रोश रोकिएन । त्यसपछि ‘कक्रोच जनता पार्टी’ नामक इन्स्टाग्राम खाता खोलियो र त्यसले केही घण्टामै हजारौं समर्थक जुटायो।

सिजेपीले आफूलाई व्यंग्यात्मक अभियान भने पनि यसको सन्देश गम्भीर छ । पार्टी सदस्य बन्ने व्यंग्यात्मक मापदण्डमा ‘बेरोजगार हुनुपर्ने’, ‘दिनभर अनलाइन बस्न सक्ने’, ‘रिस पोख्न माहिर हुनुपर्ने’ जस्ता सर्त राखिएका छन् । तर त्यही व्यंग्यभित्र भारतको राजनीतिक र सामाजिक संकट झल्किन्छ।

अभियानले सरकारमाथि भ्रष्टाचार गरेको, युवालाई रोजगारी दिन असफल भएको, धार्मिक ध्रुवीकरण बढाएको तथा प्रवेश परीक्षा प्रणालीमा लापरबाही गरेको आरोप लगाउँदै आएको छ । हालै भारतमा चिकित्सा शिक्षाको प्रवेश परीक्षा रद्द भएपछि धेरै विद्यार्थी आक्रोशित बनेका थिए।

केही भारतीय सञ्चारमाध्यमले परीक्षा विवादपछि आत्महत्यासम्मका घटना भएको उल्लेख गरेका छन् । सिजेपीको लोकप्रियताले दक्षिण एसियामा युवाहरूको बढ्दो राजनीतिक असन्तुष्टि पनि देखाएको विश्लेषक बताउँछन् । पछिल्ला वर्षहरूमा श्रीलंका, बंगालादेश र नेपालमा समेत युवाहरू सरकारविरुद्धका आन्दोलनमा अग्रपंक्तिमा थिए।

विज्ञका अनुसार भारतमा जनसंख्याको ठुलो हिस्सा युवा भए पनि पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा निराशा बढिरहेको छ । महँगी, असमानता र राजनीतिक दलहरूप्रतिको अविश्वासले पनि युवाहरूलाई व्यंग्यात्मक आन्दोलनतर्फ धकेलेको देखिन्छ । यद्यपि मोदी समर्थकहरूले भने सिजेपीलाई विपक्षी शक्तिको ‘डिजिटल स्टन्ट’ भन्दै आलोचना गरेका छन् । उनीहरूले यसको लोकप्रियता अस्थायी हुने दाबी गरेका छन् । दिप्के यसअघि आम आदमी पार्टीसँग आबद्ध रहेकाले पनि यसलाई विपक्षी प्रभावको अभियान भनिएको छ । तर दिप्केले भने यो केवल अनलाइन मजाकमा सीमित नरहने बताएका छन् । ‘यो भारतमा आएको आन्दोलन हो । यसले राजनीतिक बहसको दिशा बदल्नेछ,’ उनले भने । अभियान अहिले सडकमा पनि विस्तार हुन थालेको छ । केही प्रदर्शनमा युवा ‘कक्रोच’को पोसाक लगाएर सहभागी हुन थालेका छन्।

यसैबिच भारतीय सरकारले सिजेपीमाथि कडाइ सुरु गरेको संकेत देखिएको छ । सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) मा रहेको सिजेपीको खाता भारतमा रोक लगाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

(अन्तर्राष्ट्रिय समाचार माध्यमको सहयोग

प्रकाशित: ९ जेष्ठ २०८३ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App