२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

बन्द विद्यालय ३ दिनपछि सञ्चालनमा, खुकुरी नचाउने तीन जना थुनामा

विद्यालय समयमा खुकुरी देखाउँदै होहल्ला गरेपछि बन्द भएको खोटाङको एक विद्यालय तीन दिनपछि पुनः सञ्चालनमा आएको छ। विद्यालयमा परीक्षा चलिरहेका बेला मादक पदार्थ सेवन गरी खुकुरी नचाउँदै प्रवेश गरेका तीन युवकलाई प्रहरीले पक्राउ गरी थुनामा राखेको छ।

सोमबार जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खामी बाझोबारीस्थित जालपा आधारभूत विद्यालयमा स्थानीय तीन युवक रक्सीको बोतलसहित प्रवेश गरी होहल्ला गरेपछि विद्यालय बन्द गरिएको थियो। घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरीले स्थानीय ३७ वर्षीय धनकुमार तामाङ, ३२ वर्षीय तीर्थ तामाङ र ४४ वर्षीय पदमबहादुर तामाङलाई पक्राउ गरेको थियो।

बिहीबार प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय अभिभावकसँग छलफल गरेपछि शुक्रबारदेखि विद्यालय पुनः सञ्चालनमा आएको छ। पक्राउ परेकामाथि भने प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

परीक्षा सञ्चालन भइरहेका बेला विद्यालयमा प्रवेश गरी आतंकित बनाएपछि परीक्षा स्थगित गर्नुपरेको विद्यालयकी प्रधानाध्यापक उमा दाहालले बताइन्।

विद्यालयमा परीक्षा चलिरहेका बेला मादक पदार्थ सेवन गरी हतियार देखाउँदै प्रवेश गरेको र शिक्षकहरूले गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी प्रकाश बुढाथोकीले बताए।

विद्यालयजस्तो शान्ति क्षेत्रभित्र अनुमति बिना हतियार लिएर प्रवेश गरी आतंक मच्चाउनेविरुद्ध कडा कारबाही गर्न विद्यालयले माग गरेको डीएसपी बुढाथोकीले बताए। विद्यालयको माग र किटानी जाहेरीका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको र परीक्षा तथा पठनपाठन पुनः सञ्चालन गरिएको उनले जानकारी दिए।

घटनाप्रति नेपाल शिक्षक महासंघ खोटाङले पनि विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विद्यालयजस्तो संवेदनशील र शान्ति क्षेत्रमा आतंक मच्चाउने व्यक्तिलाई कानुनअनुसार कडा कारबाही गर्न तथा विद्यार्थी र शिक्षकलाई भयमुक्त वातावरणमा अध्ययन–अध्यापन गर्ने अवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ।

प्रकाशित: २६ असार २०८३ १९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App