१ असार २०८३ सोमबार
image/svg+xml
समाज

‘सगरमाथा आरोहण व्यक्तिगत सफलता मात्र नभई राष्ट्रको गौरव पनि’

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका आरोहीहरूले हिमालको यात्रा केवल व्यक्तिगत सफलता नभई राष्ट्रको गौरव र पहिचानसँग जोडिएको अभियान भएको बताएका छन्।

साहित्य, सङ्गीत र पर्यटनलाई एकै मञ्चमा जोड्ने उद्देश्यले आयोजित साहित्य, सङ्गीत उत्सव–२०८३ अन्तर्गत ‘समथरदेखि सगरमाथासम्म’ शीर्षकको चौथो विशेष अन्तरसंवाद कार्यक्रममा बोल्दै सगरमाथा आरोहीद्वय शिव डाँगी र मदन चुडालले  शिखरसम्म पुग्दाको संघर्ष, चुनौती र सफलताका अनुभव सुनाएका हुन्।

उनीहरूले कठिन मौसम, शारीरिक तथा मानसिक दबाबका बीच पनि लक्ष्यप्रतिको दृढ संकल्पले सफलता दिलाएको बताए।  

यस्तै, हिमाल अध्येता प्राध्यापक अर्जुन उप्रेतीले उप्रेतीले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये आठवटा नेपालमै रहेको र नेपाललाई हिमाली सम्पदाले विश्वमा चिनाउन भूमिका खेलेकाले गर्दा आफू पनि त्यसबारे ज्ञान लिन पछिल्लो समय सगरमाथा वेस क्याम्पसम्म पुगेर फर्किएको बताए। उनले पूर्वको कञ्चनजङ्गाबाट हिमालको बारेमा ज्ञान लिन थालेको अनुभव सुनाए।

सङ्गीत साधना प्रतिष्ठान नेपालको आयोजनामा तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र इटहरी उपमहानगरपालिकाको सहयोगमा सम्पन्न कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रदीप कुमार रेग्मीको अध्यक्षता तथा सुनसरीका प्रमुख जिलला अधिकारी बासुदेव घिमिरेको प्रमुख आतिथ्यमा संवाद कार्यक्रम भएको थियो।

कार्यक्रममा प्रतिष्ठानका महासचिव राजु केसीले इटहरीका युवाहरूले हासिल गरेको सगरमाथा आरोहणजस्तो साहसिक उपलब्धिलाई स्थानीय स्तरमा सम्मान र चर्चा गर्न आवश्यक रहेको बताए। उनले नेपालको सबैभन्दा होचो भूभाग कचनकवल देखि विश्वकै सर्वोच्च शिखर सगरमाथासम्मको भूगोल एउटै कोशी प्रदेशमा समेटिएको तथ्य प्रदेशकै विशेषता र गौरव भएको उल्लेख गर ।

कार्यक्रममा शिक्षाविद्, साहित्यकार, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले हिमाल, संस्कृति, पर्यटन तथा स्थानीय प्रतिभाबारे नयाँ पुस्तामा चेतना अभिवृद्धि गर्नुका साथै आफ्ना सपना पछ्याउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित: २० जेष्ठ २०८३ १९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App