वित्तीय अपराधको आरोपमा शंकर ग्रुपका शुलभ अग्रवालविरुद्ध करिब साढे २५ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर भएको छ।
विचौलियाको आरोप लाग्दै आएका व्यवसायी दीपक भट्टसँगको मिलेमतोमा वित्तीय अपराध गरेको आरोपमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा मुद्दा दायर भएको हो।
विशेष सरकारी वकिल कार्यालयले बिहीबार राति अबेर विशेष अदालतमा मुद्दा दर्ता गरेको भए पनि अभियोजनपत्र शुक्रबार सार्वजनिक गरेको हो।
अभियोजनपत्रअनुसार अग्रवालले विभिन्न बीमा तथा वित्तीय संस्थाको रकम दुरुपयोग गर्दै संगठित रूपमा नितोपत्र बजारमा चलखेल गरेको, शेयर मूल्य प्रभावित पारी व्यक्तिगत लाभ लिएको तथा त्यसबाट प्राप्त रकम शुद्धीकरण गरेको आरोपमा मा २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो दाबी गरिएको छ।
अभियोजनपत्रमा अग्रवालले नेपाल रिइन्सुरेन्सको नितोपत्र मूल्य प्रभावित पार्न योजना बनाई हिमालयन रिइन्सुरेन्स, हिमालयन क्यापिटल, हिमालयन लाइफ इन्सुरेन्सलगायत संस्थाको रकम प्रयोग गरिएको उल्लेख छ।
उक्त कार्यबाट प्राप्त रकम सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत गैरकानुनी स्रोतबाट प्राप्त सम्पत्ति भएको दाबी गरिएको छ । तयसैगरी नेपाल रिइन्सुरेन्सको शेयर मूल्य प्रभावित पारेर गरिएको कारोबारबाट मात्रै १७ अर्ब ४८ करोड २ लाख ८८ हजार २२० रुपैयाँ ९६ पैसा बिगो कायम हुने दाबी गरेको छ।
त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर मूल्य प्रभावित गर्न कोष खडा गरी हिमालयन रिइन्सुरेन्सको रकम दुरुपयोग गरिएको तथा आफ्नी पत्नी सुची अग्रवाल र सहप्रतिवादी ऋषिराज मोरको नामबाट शेयर कारोबार गरी २ अर्ब ९९ करोड ४४ लाख २५ हजार २९४ रुपैयाँ १० पैसा लाभ लिएको अभियोगपत्रमा उल्लेख छ।
अग्रवाल अध्यक्ष रहेकै अवस्थामा कृष अग्रवालको नाममा हिमालयन लाइफ इन्सुरेन्सको शेयर बिक्रीबाट प्राप्त ३२ करोड ८३ लाख ८० हजार २०२ रुपैयाँ ३२ पैसा पनि कसुरजन्य आम्दानी भएको दाबी गरिएको छ।
यस्तै, सुची अग्रवालले बृकुटी स्टक ब्रोकिङ प्रालिबाट ६२ करोड ८९ लाख ५६ हजार ३७१ रुपैयाँ ७० पैसा अपचलन गरेको अभियोग छ।
बैंकिङ कसुरबाट प्राप्त ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ ७० पैसा समेत बिगोमा समावेश गरिएको छ।
अभियोजनपत्रअनुसार बीमा ऐनअन्तर्गत हिमालयन रिइन्सुरेन्स, नेपाल माइक्रो इन्सुरेन्स, हिमालयन क्यापिटल तथा बृकुटी स्टक ब्रोकरमार्फत ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ ५३ पैसा शुद्धीकरण गरिएको दाबी गरिएको छ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ अनुसार गैरकानुनी स्रोतबाट प्राप्त सम्पत्तिको कारोबार, प्राप्ति, धारण वा प्रयोग गर्नु नै सम्पत्ति शुद्धीकरणको कसुर हुने कानुनी व्यवस्था छ। सोही आधारमा अग्रवालविरुद्ध विभिन्न मूल कसुरबाट प्राप्त रकमलाई शुद्धीकरण गरेको अभियोगसहित मुद्दा दायर गरिएको सरकारी पक्षको भनाइ छ।
यो मुद्दालाई पछिल्ला वर्षहरूमा वित्तीय क्षेत्रसँग सम्बन्धित सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण प्रकरणमध्ये एकका रूपमा हेरिएको छ। विशेष अदालतले मुद्दा दर्ता गरेसँगै अब आरोपितहरूविरुद्धको न्यायिक प्रक्रिया अघि बढ्नेछ।
प्रकाशित: २९ जेष्ठ २०८३ १५:४४ शुक्रबार




