बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सुनसरी, सिरहालगायत तराईका विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार तथा सबै सरोकारवालासँग आग्रह गरेको छ।
बिहीबार जारी विज्ञप्तिमा अभियानले सिराहामा भएको झडपका क्रममा अन्दाजी १८ वर्षीय एक बालकको गोली लागेर मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै विभिन्न जिल्लामा हिंसामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
सिजपले हिंसात्मक घटनामा बालबालिका अग्रपंक्तिमा देखिएको र उनीहरू उच्च जोखिममा परेको उल्लेख गर्दै कर्फ्यु तथा निषेधाज्ञाको समयमा बालबालिकालाई घरमै सुरक्षित राख्न अभिभावकलाई अपिल गरेको छ।
विज्ञप्तिमा नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५ तथा बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिले सुनिश्चित गरेका बालबालिकाको जीवन, सुरक्षा, शिक्षा र विकासको अधिकार कुनै पनि राजनीतिक, सामाजिक वा सामुदायिक द्वन्द्वका कारण प्रभावित हुन नहुने उल्लेख गरिएको छ।
अभियानले नेपाल सरकार, प्रदेश सरकार, राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज तथा समुदायसँग हिंसात्मक गतिविधि तत्काल रोक्न, विद्यालय सुरक्षित रूपमा नियमित सञ्चालन हुने वातावरण बनाउन, बालबालिकालाई हिंसा, द्वन्द्व र राजनीतिक प्रयोगबाट टाढा राख्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।
यसैगरी, प्रभावित बालबालिका र परिवारलाई मनोसामाजिक परामर्श, आवश्यक संरक्षण तथा सहयोग उपलब्ध गराउन पनि सिजपले आग्रह गरेको छ।
साथै राष्ट्रिय मानव अधिकार आयोग, अन्य संवैधानिक निकाय तथा सम्बन्धित सरोकारवाला संस्थालाई घटनाको अनुगमन, तथ्यपरक छानबिन र बालअधिकार संरक्षणका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ।
अभियानका अध्यक्ष तिलोत्तम पौडेलले विद्यालय, सार्वजनिक स्थान र समुदायलाई बालबालिकाका लागि सुरक्षित तथा शान्तिक्षेत्रका रूपमा कायम राख्नु सबै पक्षको साझा दायित्व भएको उल्लेख गर्दै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखी संयम, संवाद र शान्तिपूर्ण उपाय अपनाउन सबै पक्षसँग आह्वान गरेका छन्।
प्रकाशित: १५ श्रावण २०८३ ०७:१३ शुक्रबार





