नागरिक दैनिककी बुटवल संवाददाता रेखा भुसाल ‘ज्ञानकाशी स्मृति पत्रकारिता पुरस्कार २०८२’ बाट भएकी छन्।
विगत दुई दशकदेखि रुपन्देहीमा रहेर लगनशील र निष्ठावान पत्रकारितामार्फत समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
तिलोत्तमा मिडिया क्लबले प्रदान गरेको यस पुरस्कारको राशि नगद २५ हजार रुपैयाँ रहेको छ। नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले आफ्ना मातापिताको स्मृतिमा क्लबसँगको सहकार्यमा यो पुरस्कार स्थापना गरेका हुन्।
तिलोत्तमाको ड्राइभरटोलमा आयोजित पुरस्कार वितरण तथा पत्रकार क्षमता विकास कार्यक्रमका बीच भुसाललाई सम्मान गरिएको हो।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरी देवी चौधरी, पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, पुरस्कारका संस्थापक मोहन चापागाईं र क्लबका अध्यक्ष विपी गौतमले उनलाई नगदसहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका प्रमुख खाँणले पत्रकारिता क्षेत्र सशक्त भए मात्र मुलुक सही दिशामा अगाडि बढ्ने बताए। यस्तै, उपप्रमुख चौधरीले निष्पक्ष पत्रकारिताले स्थानीय सरकारलाई बलियो र जवाफदेही बनाउन मद्दत पुग्ने धारणा राखिन्।
प्रकाशित: ३० चैत्र २०८२ २१:४० सोमबार





