२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
समाज

मर्स्याङ्दीको बहावमा प्रहरीको ‘वाटर रेस्क्यू’ अभ्यास

नागरिकको सुरक्षा र विपद् व्यवस्थापनमा प्रहरीको कार्यदक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ तनहुँको आँबुखैरेनीमा ‘वाटर रेस्क्यू’ सम्बन्धी विशेष अभ्यास कार्यक्रम सम्पन्न भएको छ।

‘प्रहरी कार्य सम्पादन सुधार कार्ययोजना’ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने क्रममा इलाका प्रहरी कार्यालय आँबुखैरेनीले यस किसिमको प्रशिक्षण तथा ‘डेमो’ अभ्यास आयोजना गरेको हो।

May be an image of swimming and kayak

मंगलबार आँबुखैरेनी गाउँपालिका-२, एक्लेफाँट स्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय क्षेत्रमा उक्त उद्धार अभ्यास सञ्चालन गरिएको थियो।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख एवं प्रहरी निरीक्षक प्रदिप सुवेदीको कमाण्ड तथा नेतृत्वमा खटिएको प्रहरी टोलीले पानीमा हुने दुर्घटना र सो क्रममा अपनाउनुपर्ने उद्धार रणनीतिबारे सैद्धान्तिक ज्ञानका साथै स्थलगत व्यवहारिक अभ्यास समेत गरेको थियो।

May be an image of text

उक्त प्रशिक्षण कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूलाई जलजन्य विपद् र दुर्घटनाका विविध पक्षबारे विस्तृत जानकारी गराइएको थियो।

विशेषगरी, पानीमा उद्धार सम्बन्धी आधारभूत अवधारणाहरू, उद्धारकर्ताले स्वयं अपनाउनुपर्ने व्यक्तिगत सुरक्षा मापदण्ड तथा पानीमा हुने दुर्घटनाका सम्भावित कारण र जोखिम विश्लेषण जस्ता प्राविधिक विषयमा प्रशिक्षण केन्द्रित रहेको थियो।

May be an image of swimming, jet ski, kayak and lake

अभ्यासका क्रममा विपद्को समयमा आवश्यक पर्ने उद्धार उपकरणहरूको सही पहिचान र तिनको प्रयोग गर्ने तरिकाबारे प्रहरी जवानहरूलाई अभ्यस्त गराइएको थियो।

साथै, जलाशय वा नदीमा डुबेका पीडितलाई सुरक्षित तवरले बाहिर निकाल्ने वैज्ञानिक तरिका र उद्धार लगत्तै घटनास्थलमै प्रदान गरिनुपर्ने जीवन रक्षक प्राथमिक उपचारका विधिहरूबारे पनि विस्तृत रूपमा प्रशिक्षण प्रदान गरिएको थियो।

May be an image of kayak

यस प्रकारको पूर्वतयारी र अभ्यासले भवितव्य आउने जलजन्य दुर्घटनामा प्रहरीको परिचालन थप प्रभावकारी हुने र जनधनको क्षति न्यूनीकरणमा टेवा पुग्ने विश्वास लिइएको छ।

प्रकाशित: २३ मंसिर २०८२ २०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App