२५ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

पर्यटकीय र व्यापारिक केन्द्र बन्दै भोजपुरको च्याङ्ग्रे

भोजपुरको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे तीव्र भौतिक तथा पर्यटकीय पूर्वाधार विकाससँगै आकर्षक पर्यटकीय र व्यापारिक केन्द्रका रूपमा रूपान्तरण हुन थालेको छ।

तीनै तहका सरकार र सरोकारवाला निकायको सक्रियतामा विकास निर्माणका कामहरू सम्पन्न हुन थालेसँगै यस क्षेत्रको स्वरूप फेरिएको हो।

बजारको मुख्य आकर्षण बनेको ऐतिहासिक ‘च्याङ्ग्रे पोखरी’ को व्यवस्थित पुनर्निर्माण र सौन्दर्यीकरण गरिएको छ।

पोखरी वरिपरि पक्की पर्खाल, सुरक्षा घेरा र पैदलमार्ग (वाकिङ ट्रयाक) निर्माण गरिएको छ भने जलविहारका लागि पानी बोटसमेत सञ्चालनमा ल्याइएको छ।

पोखरीसँगै पर्यटकलाई लक्षित गरी नजिकै झोलुङ्गे पुल निर्माण गरिएको छ। जहाँ पुगेर पर्यटक तथा स्थानीयवासीले मनोरम दृश्य अवलोकन गर्दै तस्बिर र भिडियो खिच्ने गरेका छन्। यस्तै, पौराणिक तथा सांस्कृतिक महत्त्वलाई दृष्टिगत गर्दै पोखरी किनारमा ‘पञ्चकन्या मन्दिर’ निर्माण भइरहेको छ।

गाउँपालिकाका अध्यक्ष किरण राईले च्याङ्ग्रेको योजनाबद्ध विकास र आन्तरिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको बताए।

‘धार्मिक तथा पर्यटकीय स्थलको प्रवर्द्धनसँगै यस क्षेत्रमा सकारात्मक परिवर्तन आएको छ,’ अध्यक्ष राईले भन्नुभयो, “आगामी दिनमा पनि योजनाबद्ध विकासलाई निरन्तरता दिनेछौँ।”

यस्तै, बजार प्रवेशको विन्दु तिवारीभञ्ज्याङबाट च्याङ्ग्रे बजारसम्मको सडक कालोपत्रे हुनुका साथै ढल तथा नाली व्यवस्थापन गरिएपछि बजार व्यवस्थित बनेको छ। स्थानीय सरकार बनेपछि विकासले गति लिएको स्थानीय बालिका खत्रीले बताउनुभयो।

परम्परागत ग्रामीण बजारबाट आधुनिक सहरतर्फ उन्मुख च्याङ्ग्रेमा गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय क्षेत्रको विकास तथा खेलकुदका लागि 'पौवादुङमा रङ्गशाला' निर्माण भइरहेको छ।

पूर्वाधार विस्तारसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमन उल्लेख्य बढेको छ। पर्यटकीय चहलपहल बढेपछि स्थानीय व्यापार, होटल व्यवसाय तथा कृषि उपजको बजारीकरणमा ठूलो टेवा पुगेको स्थानीयवासीको भनाइ छ।

प्रकाशित: २४ आश्विन २०८३ १६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App