सिन्धुलीको मरिण गाउँपालिका–४, साहानमा निर्माणाधीन मासु प्रशोधन उद्योगमा अवैध रूपमा चिनियाँ नागरिकले काम गरिहेको पाइएको छ। मासु प्रशोधन उद्योगमा कार्यरत ५ सय १ चिनियाँ नागरिकमध्ये अधिकांशसँग काम गर्ने अनुमति नभएको पाइएको हो।
जिल्ला अनुगमन समिति सिन्धुली र अध्यागमन विभागका प्रतिनिधिको संयुक्त टोलीले निर्माण कम्पनीमा छापा मारी अनुगमन गर्दा उनीहरू मध्ये अधिकांश पर्यटक तथा व्यावसायिक भिसामा नेपालमा बसेर काम गरिरहेको भेटिएको हो। चिनियाँ लगानीमा निर्माणाधीन उक्त उद्योगको संरचना निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनीमार्फत पाँच सय एक जना चिनियाँ प्राविधिक तथा कामदार कार्यरत रहेको ठेकेदार कम्पनीले जनाइएको छ।
अनुगमनका क्रममा कम्पनीले काममा लगाएका चिनियाँ नागरिकको राहदानी तथा भिसाको अवस्था परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन्।
अनुगमन टोलीले पाँच सय एक जना कार्यरत चिनियाँ नागरिकमध्ये ३ सय २८ जनाको मात्र राहदानी प्राप्त गरेको जनाएको छ। दुई सय ३५ जनासँग पर्यटक (टुरिष्ट) भिसा, ९२ जनासँग व्यावसायिक (बिजनेस) भिसा र एक जनासँग मात्र कामदार (वर्किङ) भिसा रहेको पाइएको प्रजिअ श्रेष्ठले बताइन्।
भिसा अनुगमन गर्दा एक जना चिनियाँ नागरिकको पर्यटक भिसाको अवधि समेत समाप्त भइसकेको खुलेको अनुगमनमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन्। परियोजनामा कार्यरत कामदारका रूपमा प्राप्त ३ सय २८ वटा राहदानीको विवरण टिपोट गरी थप आवश्यक अध्ययन तथा छानबिनका लागि अध्यागमन विभाग पठाइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिइन्।
नेपालमा रोजगारी तथा श्रमसम्बन्धी गतिविधिमा संलग्न हुने विदेशी नागरिकले सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी काम गर्ने अनुमति लिनुपर्ने व्यवस्था भएपनि मासु प्रशोधन उद्योगमा कार्यरत ठूलो संख्यामा चिनियाँ नागरिक पर्यटक तथा व्यावसायिक भिसामा संरचना निर्माणको काममा संलग्न रहेको भेटिएपछि उनीहरूको भिसा तथा नेपाल बसाइँको वैधानिकतामाथि प्रश्न उठेको छ।
अनुगमन समितिले संरचना निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनीलाई विदेशी नागरिकलाई काममा लगाउँदा अनिवार्य रूपमा वर्किङ(काम गर्ने) भिसाको स्वीकृति लिन निर्देशन दिएको छ। वर्किङ भिसाको स्वीकृति नलिई चिनियाँ नागरिकलाई काममा नलगाउन कम्पनीलाई स्पष्ट निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ।
त्यसैगरी, अनुगमनका क्रममा प्राप्त नभएका बाँकी चिनियाँ नागरिकका राहदानीसमेत तत्काल बुझाउन निर्देशन दिइएको छ। कम्पनीको आधिकारिक प्रतिनिधिलाई आवश्यक कागजातसहित तत्काल अध्यागमन विभागमा उपस्थित हुनसमेत निर्देशन दिइएको अनुगमन समितिले जनाएको छ। अनुगमनपछि परियोजनामा कार्यरत विदेशी नागरिकको संख्या, उनीहरूको भिसाको प्रकृति तथा काम गर्ने कानुनी हैसियतबारे थप अध्ययन सुरु भएको छ। प्राप्त राहदानी र कागजातको अध्ययनपछि सम्बन्धित विदेशी नागरिक तथा कम्पनीमाथि आवश्यक कारबाहीका विषयमा निर्णय हुने अध्यागमन निकायले जनाएको छ।
चिनको छेन्दु जियान फुड कम्पनीमार्फत २० अर्ब प्रत्यक्ष बैदेशिक लगानी र नेपाली कम्पनी हिमालयन फुड इन्टरनेशनलले सात अर्ब रुपैयाँ साझेदारी गरि भैसीको मासु प्रशोधन उद्योग स्थापनाका लागि निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। वार्षिक दुई लाख मेटिकटन मासु र ५५ हजार मेटिकटन सहायक उत्पादन छाला भित्रि अंग र टाउको उत्पादन गर्ने यस उद्योगले लक्ष्य राखेको छ।
वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चिन सहित अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुका साथै उद्योग सञ्चालनमा आएसँगै पाँच हजार बढी नेपालीलाई उद्योगमा प्रत्यक्ष रोजगारी दिन सक्ने उद्योगको क्षमता हुने जनाइएको छ।
प्रकाशित: २८ भाद्र २०८३ १२:२८ आइतबार





