नेपाली नागरिकका नाममा व्यवसाय दर्ता गराएर चिनियाँ नागरिकले प्रत्यक्ष व्यापार सञ्चालन गरिरहेको पाइएपछि स्थानीय प्रशासनले कानुनी हैसियतमाथि सूक्ष्म अनुसन्धान थालेको छ ।
विराटनगर महानगरपालिका–२ डिएसपी रोडस्थित ‘१६० सप’ मा सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो । अनुगमनका क्रममा बाहिर ‘१६० सप’ भनिए पनि कानुनी कागजातमा भने काठमाडौं महानगरपालिका–३२ जडीबुटीकी राधिका बस्नेत कार्कीको नाममा ‘एभरपिक सप्लायर्स’ दर्ता रहेको पाइएको छ । तर, उक्त पसलको वास्तविक कारोबार र व्यवस्थापन भने चिनियाँ नागरिक लि जोसिज्याकले गर्दै आएका थिए ।
वाणिज्य कार्यालय विराटनगरका प्रमुख दिपेशकुमार झाका अनुसार पसलमा बिक्रीका लागि राखिएका कस्मेटिक तथा घरायसी सामग्रीको खरिद स्रोत, वित्तीय कारोबार र सञ्चालनको कानुनी आधार स्पष्ट पार्न कागजात माग गरिएको छ । सञ्चालकलाई खरिद बिलसहितका प्रमाण बुझाउन निर्देशन दिँदै राजस्वमा देखाइएको विवरण र वास्तविक कारोबारबीचको अन्तरबारे अध्ययन भइरहेको झाले जानकारी दिए ।
यसैबीच, पसल सञ्चालनमा संलग्न चिनियाँ नागरिक लि जोसिज्याकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई अध्यागमन विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
नेपालीको नाममा फर्म दर्ता गरी चिनियाँ नागरिकले व्यापार चलाएको विराटनगरमा यो दोस्रो घटना हो । यसअघि सेन्ट्रल मलस्थित ‘योनो मार्ट’ मा पनि यस्तै प्रकृति भेटिएपछि असोज ८ गते चिनियाँ नागरिक सीए जिङलान पक्राउ परेका थिए । उद्योग विभागबाट बिजनेस भिसाका लागि सिफारिस लिएका सीएले स्वीकृत उद्देश्यविपरीत पसल सञ्चालन गरेको र अनुगमनका क्रममा सक्कल राहदानीसमेत पेस गर्न नसकेपछि उनलाई अध्यागमन विभाग पठाइएको थियो ।
पछिल्लो समय व्यक्तिगत फर्म दर्ता गरी समुद्रपार आयात–निर्यात र स्थानीय व्यापारका नाममा वास्तविक लगानीकर्ता लुकाउने प्रवृत्ति बढेको छ । यस घटनापछि विराटनगरका अन्य व्यवसायमा पनि विदेशी नागरिकको गैरकानुनी प्रत्यक्ष संलग्नता भए नभएको विषयमा स्थानीय प्रशासनले निगरानी बढाएको छ ।
प्रकाशित: १२ आश्विन २०८३ १९:३९ सोमबार





