भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका बालबालिका बढी प्रभावित भएको पाइएको छ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को आयोजना तथा प्लान इन्टरनेशनलको सहकार्यमा शुक्रबार आयोजित ‘भोटेकोशी बाढीले बालबालिकामा पारेको प्रभाव र सञ्चारकर्मीको दायित्व’ विषयक छलफलमा यस्तो जानकारी दिइएको हो।
कार्यक्रममा सिजप तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बाढी प्रभावित क्षेत्रमा गरिएको प्रत्यक्ष अनुगमन तथा बालबालिकाको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए।
उनका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा र तनहुँलगायत जिल्ला बाढीबाट बढी प्रभावित भएका छन्। भदौ २६ गतेसम्मको तथ्याङ्कअनुसार बाढीमा १ हजार ३८५ जनाको मृत्यु र ५ हजार १३० जना बेपत्ता भएको उनले जानकारी दिए।
पौडेलका अनुसार रसुवा, नुवाकोट र धादिङका ३२ विद्यालयका ९ हजार ४२८ बालबालिका प्रत्यक्ष प्रभावित भएका छन्। तीमध्ये १ हजार ३७३ बालबालिका विस्थापित भएर होल्डिङ सेन्टरमा बसिरहेका छन्। प्रारम्भिक प्रतिवेदनअनुसार ४८८ विद्यार्थी सम्पर्कविहीन रहेका छन् भने ५ जना विद्यार्थी मृत भेटिएका छन्।
उनले बाढी प्रभावित बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षाका लागि सबै सरोकारवाला निकायले वकालत तथा पैरवी गर्नुपर्नेमा जोड दिए। बाबुआमा तथा अभिभावक गुमाएका बालबालिकाको संरक्षणमा राज्य तथा सम्बन्धित निकाय अझ संवेदनशील भएर काम गर्नुपर्ने उनको भनाइ थियो।
बालबालिकाको गोपनीयता र मानसिक अवस्थालाई ध्यान दिन आग्रह
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले विपद्का समयमा बालबालिकासम्बन्धी रिपोर्टिङका विषयमा प्रस्तुतीकरण गरेका थिए। उनले सञ्चारमाध्यमले आवाजविहीनहरूको आवाजलाई प्राथमिकता दिनुपर्ने भए पनि बालबालिकाको विषयमा रिपोर्टिङ गर्दा बाल अधिकार, गोपनीयता र उनीहरूको मानसिक अवस्थालाई विशेष ध्यान दिनुपर्ने बताए।
रिपोर्टिङका क्रममा बालबालिकालाई थप मानसिक आघात नपुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्ने र उनीहरूको पहिचान तथा गोपनीयताको रक्षा गर्नुपर्नेमा उनले जोड दिए।
त्यस्तै, प्लान इन्टरनेशनलका पोलिसी म्यानेजर इर्शाद अन्सारीले विपद्का समयमा बालबालिकासम्बन्धी मुद्दालाई सञ्चारमाध्यमले विशेष प्राथमिकता दिनुपर्ने बताए। बालबालिकाको संवेदनशीलतालाई ध्यान दिँदै उनीहरूको गोपनीयता संरक्षणमा समेत विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ थियो।
अन्सारीले बालबालिकाका क्षेत्रमा काम गर्ने क्रममा सिजपसँग संस्थागत रूपमा आवश्यकताअनुसार सहकार्य र सहयोग गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरे।
छलफलमा सहभागी सञ्चारकर्मीहरूले बालबालिकाका विषयमा कुनै सञ्चारमाध्यम, निकाय वा संघसंस्थाबाट गलत काम भएमा वा तथ्यविहीन समाचार तथा सूचना सम्प्रेषण भएमा सिजपले त्यस विषयमा आवाज उठाउनुपर्ने बताएका थिए।
उनीहरूले बालबालिकाको अधिकार र संरक्षणसँग सम्बन्धित गलत अभ्यासविरुद्ध प्रेस विज्ञप्तिमार्फत सार्वजनिक धारणा राख्न तथा सम्बन्धित सरोकारवाला निकायसँग वकालत र पैरवी गर्नसमेत सिजपलाई आग्रह गरे।
कार्यक्रममा विपद्का समयमा बालबालिकाको सुरक्षा, संरक्षण, शिक्षा तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राख्दै सञ्चारमाध्यमले जिम्मेवार र संवेदनशील पत्रकारिता गर्नुपर्नेमा जोड दिइएको थियो।
प्रकाशित: २७ भाद्र २०८३ ०७:१९ शनिबार





