सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जीर्ण अवस्थामा रहेको एक घर भत्किँदा ६ वर्षीय बालकको च्यापिएर मृत्यु भएको छ।
सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका–६, कामदटोलमा घर नजिकै खेलिरहेका गौतम माझीका छोरा अरुण माझीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार, स्थानीय नवीन सिंहको दुईतले पुरानो पक्की घर अचानक भत्किएको थियो।
घर भत्किँदा नजिकै खेलिरहेका बालक अरुणलाई इँटा र माटोको थुप्रोले पुरेको थियो, जसका कारण उनको घटनास्थलमै मृत्यु भयो।
घटनाको सूचना पाउनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो। डीएसपी राईले भने, ‘हामीले जेसीबीको प्रयोग गरी भग्नावशेषबाट बालकको शव निकालेका छौं।’
मृतक बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल, मलंगवामा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १४ श्रावण २०८२ १९:५९ बुधबार





