ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उलङ्घन गरेको आरोपमा कारबाही गरेको छ।
मुख्यमन्त्री शाहले बिना हेलमेट आफ्नो निवास परिसरमा मोटरसाइकल चलाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुरमा ट्राफिकले मुख्यमन्त्री निवासमै पुगेर जरिवाना तिराएको हो।
५०० रूपैयाँ जरिवाना तिरेपछि सञ्चारकर्मीसँग बोल्दै मुख्यमन्त्री शाहले ट्राफिक नियम उल्लङ्घन गरेको स्वीकार गर्दै कानुनले व्यवस्था अनुसार सबैले कारबाही भोग्नुपर्ने बताए। उनले ट्राफिक नियमको पालना गर्न सबै नागरिकलाई आग्रह गरे।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले मुख्यमन्त्री शाहले बिना हेलमेट बाइक चलाएको भिडिओ टिकटकमा पोस्ट गरेका थिए। त्यसपछि टिकटक प्रयोगकर्ताले नेपाल प्रहरीलाई मेन्सन गर्दै उनलाई कारबाही गर्न माग गरेका थिए।
यसअघि ट्राफिक प्रहरीले ट्राफिक नियम उलङ्घन गरेको आरोपमा सांसद हर्क सामपाङलाई कारबाही गरेको थियो।
प्रकाशित: १८ असार २०८३ १२:३६ बिहीबार





