२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै कुटपिट !

चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि गाउँपालिकाकै कार्यकक्षभित्र निर्माण व्यवसायीको समूहले कुटपिट गरेको आरोप लागेको छ।

प्रहरीका अनुसार आज बिहान करिब ११ बजे निर्माण व्यवसायी लालबहादुर तामाङसहित ६ जनाको समूह गाउँपालिकाको कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर बस्नेतमाथि सामूहिक रूपमा हातपात गरेको हो।

चितवन प्रहरीका प्रवक्ता डीएसपी चन्द्रभूषण यादवले क्रसर व्यवसायी तामाङसहितको टोली कार्यकक्षमै पुगेर कुटपिट गरेको जानकारी दिए। घटनापछि सामान्य घाइते भएका बस्नेतलाई इच्छाकामना आधारभूत अस्पतालमा भर्ना गरी उपचार गरिएको प्रहरीले जनाएको छ। कुटपिटका क्रममा उनको शरीरका विभिन्न भागमा सामान्य चोटपटक लागेको बताइएको छ।

गाउँपालिकाका एक कर्मचारीका अनुसार खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण भएको हो। उनका अनुसार हिजो जिल्ला अदालत चितवनमा उक्त मुद्दाको सुनुवाइ भएको थियो र फैसला गाउँपालिकाको पक्षमा आएपछि त्यसको रिसमा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण गरिएको हो। प्रहरीले भने घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

घटनापछि गाउँपालिकाका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै किंगफिसर कन्स्ट्रक्सनका निर्माण व्यवसायी लालबहादुर तामाङसहित ६ जनाको टोलीले प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोप लगाएका छन्। विज्ञप्तिमा उनीमाथि ज्यान मार्ने मनसायले आक्रमण गरिएको र परिवारलाई समेत नछोड्ने धम्की दिइएको उल्लेख छ।

गाउँपालिकाभित्रै सार्वजनिक पदमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतमाथि भएको आक्रमणले कर्मचारीको सुरक्षा र कानुनी शासनको प्रभावकारितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

प्रकाशित: १८ असार २०८३ १५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App