२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

बजेट अभावले चेरेचौरको गुरुयोजना अलपत्र

कर्णालीको दुर्गम भूगोलमा स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको उज्यालो आशा बोकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना वर्षौँदेखि कागजमै सीमित बनेको छ।

जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित चेरे चौरमा निर्माण गर्ने भनिएको विशाल पूर्वाधार योजना बजेट अभावका कारण अघि बढ्न नसक्दा प्रतिष्ठान अहिले पनि भाडाका घर र अस्थायी भवनमै सीमित भएर सञ्चालन भइरहेको छ।

करीब पाँच सय रोपनी क्षेत्रफलमा फैलिने गरी तयार गरिएको ६ अर्ब २९ करोड रुपैयाँ लागतको गुरुयोजनाले कर्णालीमा चिकित्सा शिक्षा, अनुसन्धान र विशेषज्ञ स्वास्थ्य सेवाको दीर्घकालीन आधार निर्माण गर्ने लक्ष्य राखेको थियो। तर डीपीआर तयार भएको नौ वर्ष बितिसक्दा पनि योजना कार्यान्वयनको गति सुस्त छ।

यो गुरुयोजना केवल पूर्वाधार निर्माणको योजना मात्र होइन, कर्णालीको स्वास्थ्य, शिक्षा र अनुसन्धान क्षेत्रलाई नयाँ स्तरमा पुर्‍याउने दीर्घकालीन दृष्टिकोणका रूपमा हेरिएको थियो।

तर आर्थिक स्रोतको अभाव, राज्यको कमजोर प्राथमिकता र राजनीतिक इच्छाशक्तिको कमीका कारण योजना अझै प्रारम्भिक चरणमै अड्किएको छ।

गुरुयोजना निर्माणका लागि १३ जना स्थानीय जग्गादाताले पाँच सय रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएका थिए। कर्णालीको विकासमा योगदान दिन स्थानीयले गरेको त्यो उदारताले एक समय ठूलो आशा जगाएको थियो।

त्यही आधारमा प्रतिष्ठानले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्दै बहुवर्षीय पूर्वाधार निर्माणको खाका बनाएको थियो।तर अपेक्षाअनुसार बजेट नआउँदा योजना अघि बढ्न सकेको छैन।

प्रतिष्ठानका रजिष्ट्रार लक्ष्मीचन्द्र महतका अनुसार जग्गा उपलब्ध भएपछि गुरुयोजना तयार भए पनि आर्थिक स्रोत अभावले निर्माण कार्य रोकिएको छ। ‘डीपीआर तयार भएको नौ वर्ष भइसक्यो,’ उनले भने, ‘तर पर्याप्त बजेट नआउँदा गुरुयोजना कार्यान्वयन हुन सकेको छैन।’

हालसम्म करिब ७६ करोड रुपैयाँ खर्चेर सीमित संरचना मात्र निर्माण भएका छन्। शैक्षिक भवन, प्रशासनिक भवन, क्वाटर भवन र चेरेचौरमा बेसिक साइन्सको एउटा भवन निर्माण भए पनि गुरुयोजना अनुसारका अधिकांश संरचना अझै बन्न सकेका छैनन्।

रसुवा लामा-क्षमादेवी जेभी कम्पनीले गुरुयोजना अनुसारका संरचना निर्माण गर्ने जिम्मेवारी पाए पनि बजेट अभावका कारण कामले गति लिन सकेको छैन। सदरमुकाम खलंगादेखि करिब आठ किलोमिटर दूरीमा पर्ने चेरे चौरमा निर्माण हुने यो परियोजना पूरा भए जुम्लालाई स्वास्थ्य शिक्षा र स्वास्थ्य पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको छ।

कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका तीन जिल्ला गरी १३ जिल्लालाई सेवा क्षेत्र बनाएको प्रतिष्ठानले भविष्यमा क्षेत्रीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकसित हुने अपेक्षा गरिएको थियो।तर पर्याप्त पूर्वाधार अभावका कारण प्रतिष्ठान अझै पनि भाडाका घर र अस्थायी भवनमा सञ्चालन भइरहेको छ।

जुम्ला बहुमुखी क्याम्पसका भवनदेखि अन्य भाडाका घरहरूमा समेत कक्षा सञ्चालन भइरहेका छन्। करीब ६ अर्ब रुपैयाँ लागतको डीपीआर कागजमै सीमित बनेपछि स्रोत जुटाउन प्रतिष्ठानका पदाधिकारीले निरन्तर पहल गरिरहेका छन्।

तर सरकारी प्राथमिकतामा नपरेको गुनासो उनीहरूको छ। दुर्गम भूगोल, सीमित पूर्वाधार र उच्च ढुवानी खर्चका बीच सञ्चालन भइरहेको प्रतिष्ठानलाई हरेक वर्षको बजेटमा अपेक्षित ध्यान नदिइएको स्थानीयको आरोप छ। स्थानीय जगतबहादुर रोकायाका अनुसार कर्णालीले पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवामा महत्वपूर्ण परिवर्तन देख्न थाले पनि राज्यको प्राथमिकतामा नपर्दा विकासको गति सुस्त बनेको छ।

‘पहिले सिटामोल पनि नपाइने कर्णालीमा अहिले विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुन थालेको छ,’ उनले भने, ‘पहिले डाक्टरी पढ्न बाहिर जानुपर्थ्यो, अहिले कर्णालीमै पढ्न पाइन्छ। तर राज्यले प्राथमिकता नदिँदा वर्षेनी बजेटमा उपेक्षा भइरहेको छ।’

उनका अनुसार प्रतिष्ठानको गुरुयोजना अलपत्र पर्नुमा राज्यको उदासीनतासँगै संसदमा जननिर्वाचित प्रतिनिधिहरूको कमजोर पहल पनि जिम्मेवार छ।प्रतिष्ठानको गुरुयोजना अलपत्र परेको गुनासो बढेपछि गत माघ २७ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा शर्मा गौतम अनुगमनका लागि जुम्ला पुगेकी थिइन्।

अनुगमनका क्रममा उनले पूर्वाधार निर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। अनुगमनस्थलबाटै उनले गुरुयोजनासम्म पुग्ने सडक निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग आग्रह गरिन्।

भूगोल र ढुवानी खर्चलाई आधार मानेर बजेट प्राथमिकता निर्धारण गरिने उनले बताइन्। ‘बजेटको अभावले पूर्वाधार विकास र सेवा रोकिँदैन,’ उनले भनिन्, ‘आगामी बजेटमा यो बहुवर्षीय गुरुयोजनालाई विशेष प्राथमिकता दिइनेछ।’

डीपीआर अनुसार चेरे चौरमा तीन वटा शैक्षिक भवन, खेल मैदान, सुविधायुक्त पुस्तकालय भवन, मेस भवन, सेमिनार हल, प्रशासनिक भवनलगायत २३ वटा संरचना निर्माण गर्ने योजना छ। यी संरचना निर्माण भए प्रतिष्ठानको शैक्षिक क्षमता मात्र होइन, स्वास्थ्य सेवा र अनुसन्धान गतिविधि पनि उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।

हाल प्रतिष्ठानमा एमबीबीएस, एमडी, बी–फार्मा, बीएनएसलगायत एक दर्जनभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालनमा छन्। करिब पाँच सयभन्दा बढी शिक्षक तथा कर्मचारी कार्यरत छन्।तर पूर्वाधार अभावका कारण शिक्षकहरू भाडाका घरमा बस्न बाध्य छन्। देशका विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरू पनि भाडाकै घरमा बसिरहेका छन्, जसका कारण पठनपाठनमा समेत असर परेको छ।

कर्णालीकै गौरवका रूपमा हेरिएको प्रतिष्ठानको पूर्वाधार विकासमा भएको ढिलाइ स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धानको विस्तारका लागि ठूलो चुनौती बनेको छ। स्थानीयका अनुसार राज्य र राजनीतिक दलहरूको पर्याप्त चासो नपुगेसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना कागजमै सीमित रहने खतरा अझै टरेको छैन।

प्रकाशित: २६ फाल्गुन २०८२ २१:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App