२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

अवैध माटो उत्खनन्‌विरुद्ध चाँगुबासी आन्दोलित

भक्तपुरको चाँगुनारायण नगरपालिकाबासीले अवैध माटो दोहन भएको भन्दै विरोध जनाउन थालेका छन् । नगरपालिकाका विभिन्न क्षेत्रहरुमा अवैध माटो दोहन गरी ओसारपसार गरेको भन्दै उनीहरुले संयुक्त हस्ताक्षर गरी विरोध थालेका हुन् ।

चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीका स्थानीय बासिन्दाहरूले क्षेत्रमा बढ्दो माटो दोहन, वातावरणीय असर तथा सडक क्षतिको विषयमा ध्यानाकर्षण गराउँदै चाँगुनारायण नगरपालिकालाई मंगलबार ज्ञापनपत्रसमेत बुझाएका छन् । स्थानीय बासिन्दाहरूले हाल ताथलीका विभिन्न स्थानमा अनियन्त्रित रूपमा भइरहेको माटो उत्खनन तथा ओसारपसारका कारण वातावरणीय सन्तुलन बिग्रँदै गएको, भूक्षय तथा पहिरोको जोखिम बढेको र बस्तीको सुरक्षामाथि खतरा उत्पन्न भएको उल्लेख गरेका छन् ।

ज्ञापनपत्रमा विशेषगरी वडाको तख्योचा, तधचाः क्षेत्रबाट रातिराति माटो दोहन भइरहेको र साखकर्मी टोल, राउत टोल, इथाचा तथा चुनदेवी आसपासका क्षेत्रमा समेत माटो उत्खनन तथा ओसारपसार व्यापक रूपमा भइरहेको उल्लेख गरिएको छ । यसले स्थानीय वातावरणमा नकारात्मक प्रभाव पार्नुका साथै सडक तथा सार्वजनिक पूर्वाधारमा पनि क्षति पुगेको स्थानीयहरूको भनाइ छ । केही समयअघि नगरपालिका तथा सरोकारवालाको पहलमा फैढोका–सौडोल–न्हेम्हाफुकी–खड्का हुँदै बुढाथोकी टोलसम्म जाने सडकमा कालोपत्रे गरिएको भए पनि अत्यधिक भार बोकेका टिपर र ट्रकहरूको निरन्तर आवतजावतका कारण सडकको कालोपत्रे बिग्रिन थालेको स्थानीयहरूले बताएका छन् ।

ज्ञापनपत्र बुझाउन गएको स्थानीय टोलीमा सहभागी स्थानीय हरिसुन्दर छुकांले नगर प्रमुख जीवन खत्रीलाई ज्ञापनपत्र बुझाउँदै माटो उत्खनन र दोहनमा सहभागीहरूले नगरपालिकाको नीतिगत कमजोरीको फाइदा उठाएकाले तत्काल नगरपालिकाको ध्यानाकर्षण हुनुपर्ने बताए । पाँचबुँदे ज्ञापनपत्रमा ताथलीका विभिन्न सडकको क्षमताभन्दा भारी सवारी साधन अत्यधिक गुड्दा धुलो, धुवाँ तथा ध्वनि प्रदूषण बढेको र साँघुरा सडकमा सवारी साधन सञ्चालन हुँदा दुर्घटनाको जोखिम समेत बढेको स्थानीयको गुनासो छ । यसले स्थानीय बासिन्दा, विद्यार्थी तथा सर्वसाधारणको दैनिक आवतजावतमा समेत समस्या सिर्जना गरेको उनीहरूको भनाइ छ ।

स्थानीय बासिन्दाहरूका अनुसार यस विषयमा नगरपालिका, नगर प्रहरी तथा सम्बन्धित निकायलाई मौखिक रूपमा पटक–पटक जानकारी गराए पनि हालसम्म प्रभावकारी कदम चालिएको छैन ।

हामीले यो विषयमा धेरैपटक जानकारी र खबरदारी गरेका थियौं तर त्यसको सुनुवाइ भएनझ, स्थानीय एवम् चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा सदस्य रविन बासुकलाले भने, नगरपालिकाले यो विषयलाई समयमै ध्यान नदिँदा जनप्रतिनिधिले स्थानीयको धेरै गुनासो सुन्नु परेको छ । स्थानीय पीडित बनेका छन् ।

यसै सन्दर्भमा स्थानीयहरूले ताथली क्षेत्रमा भइरहेको माटो दोहनको तत्काल अनुगमन गरी मापदण्ड लागू गर्न, अनियमित उत्खनन नियन्त्रण गर्न, अत्यधिक भार बोकेका सवारी साधनमा तौल सीमा कडाइका साथ लागू गर्न तथा क्षतिग्रस्त सडकको तत्काल मर्मत गर्न माग गरेका छन् ।

त्यसैगरी स्थानीय बस्ती तथा विद्यालय आसपास दुर्घटना न्यूनीकरणका लागि आवश्यक ट्राफिक व्यवस्थापन, संकेत चिन्ह राख्ने तथा वातावरणीय प्रभावलाई ध्यानमा राख्दै माटो दोहनसम्बन्धी स्पष्ट नीति तथा नियमन लागू गर्न पनि उनीहरूले नगरपालिकासँग माग गरेका छन् ।

स्थानीय बासिन्दाहरूले सार्वजनिक पूर्वाधारको संरक्षण, वातावरणीय सन्तुलन र बस्तीको सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले यस विषयमा छानबिन गरी शीघ्र आवश्यक कदम चाल्ने विश्वास व्यक्त गरेका छन् ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख खत्रीले माटो उत्खनन र त्यसले पुगेको हानीबारे नगरपालिकाको ध्यानाकर्षण भएको बताए । उनले सो समस्या समाधानका लागि स्थलगत अनुगमन गर्ने र अवैध माटो उत्खननलाई नियन्त्रण गर्न संयन्त्र बनाउने बताए । उनले नगरपालिकाका जनप्रतिनिधि, प्रहरी, नगर प्रहरी, प्रशासन कार्यालयका प्रतिनिधि र सरोकारवालाको सहभागितामा संयन्त्र बनाएर माटो उत्खनन र त्यसले उत्पन्न गरेको समस्या समाधान गर्ने बताए ।

उता चागुनारायण नगरपालिका वडा नं ३ झौखेलबासीले पनि अवैध माटो उत्खनन्को विरोध जनाएका छन् । उनीहरुले वडाबासीको हस्ताक्षर संकलन गरी यो कार्य रोक्न जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा पत्र पनि पठाएका छन् । साथै उनीहरुले विरोधस्वरुप चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलमा तालावन्दी पनि गरिदिएका छन् ।

प्रकाशित: २६ फाल्गुन २०८२ २०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App