२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

मनसुनको समय र स्वरूप फेरिँदै : के पृथ्वीलाई ‘ज्वरो’ आएको हो?

यस वर्षको मनसुन नेपालका विभिन्न भूभागबाट बाहिरिएको भए पनि पूर्ण रूपमा मनसुन बहिर्गमन हुन सकेको छैन। 

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार सुदूरपश्चिम, कर्णालीलगायत लुम्बिनीको पश्चिमी भू-भागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको केही स्थानहरूबाट पूर्ण रूपमा मनसुन बाहिरिन सकेको छैन।

नेपालमा मनसुनको प्रवृत्तिमा देखिएको निरन्तरको फेरबदलले यसको सामान्य अवधि र बाहिरिने प्रक्रियालाई समेत प्रभावित पारेको छ। ‘मनसुनको सामान्य अवधि जुन १३ देखि अक्टोबर २ सम्म रहे पनि पछिल्ला चार पाँच वर्षदेखि यो अवधि लम्बिएर अक्टोबरको दोस्रो सातासम्म रहन्छ,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जन भन्छिन्।

आज बुधबारसम्म पनि नेपालको पूर्वी भूभागमा पूर्वीय वायुको प्रभाव यथावत् नै छ जसको कारण पुनः मनसुनको आंशिक प्रभाव हुन्छ। भारी वर्षाको सम्भावना नभए पनि पूर्वी वायु र स्थानीय वायुको मिश्रित प्रभाव छ। 'त्यस्तै पूर्वबाट मनसुन नेपाल भित्रिने र पश्चिमबाट बहिर्गमन हुने हुँदा देशभरबाट एकै पटक मनसुन हट्दैन,’ मौसमविद् महर्जनले नागरिकसँग भनिन्। उनले यो वर्ष पनि असोज दोस्रो सातासम्म मनसुन हट्ने अवस्था नरहेको बताइन्।

मनसुन ढिलो बाहिरिने र बहिर्गमनको समयमा समेत भीषण वर्षा हुनुको कारण स्थानीय वायु प्रणाली नभएको महर्जनले बताइन्। ‘मनसुन बाहिरिने समयमा बङ्गालको खाडीमा विकसित हुने न्यून चापीय प्रणाली हुँदा त्यसले मनसुनलाई केही दिनसम्म नेपालमै रोकेर राख्छ र अचानक ठुलो वर्षा गराउँछ,’ उनी भन्छिन्, ‘यो वर्ष पनि मनसुनको समयमा यस्तै प्रणाली विकसित भएकाले मनसुनको समय लम्बिएको हो।’  

मौसमविद् बिनु महर्जन

नेपालमा हुने मनसुनी प्रभाव अरेबियन सागर र बङ्गालको खाडी दुवैबाट भए पनि नेपाल, पूर्वी भारत, भुटान, म्यानमार र बङ्गलादेशलाई मुख्य गरी बङ्गालको खाडीबाट आएको वायुले प्रभाव पार्ने बताउँदै उनले पछिल्लो पाँच वर्षको मनसुनलाई हेर्दा गत वर्ष कञ्चनपुरमा २४ घण्टामा मात्र ६२४ मिलिमिटर वर्षा रेकर्ड गरिएको जानकारी दिइन्।  

मनसुनका कारण हुने अत्यधिक वर्षाका कारण क्षति पनि धेरै हुने गरेको छ। २०८२ सालको असोज १७ गतेदेखि परेको अविरल वर्षापछि दुई दिनमा विभिन्न जिल्लामा विपद्का कारण ६० जनाको मृत्यु भयो। यस वर्षको मनसुनमा मात्रै ६० जनाले ज्यान गुमाएका छन्।  

विगत ६ महिनाको तथ्याङ्कलाई केलाउँदा यो अवधिमा सबैभन्दा घातक विपद् पहिरो नै बनेको छ। पहिरोका घटना ५३९ वटा भएका छन्, जसबाट ६५ जनाले ज्यान गुमाएका छन् भने ९ जना बेपत्ता छन्। यसैगरी पहिरोपछि नेपालमा बाढीले पनि धेरै क्षति गर्ने गरेको छ। यो ६ महिनामा बाढीका ३०७ घटनाबाट धेरै घरपरिवार प्रभावित भएका छन्। बाढीका कारण मात्र ३१ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता भएका छन्। सोही अवधिमा भारी वर्षाका कारण पनि सात जनाको मृत्यु भएको छ। विगत ६ महिनामा भएका १ हजार दुई सय ४७ वटा विपद्का घटनामा १०३ को मृत्यु, ३२ बेपत्ता र ११० जना घाइते भएका छन्। यसबाट ५ हजार ३२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको तथ्यांकले देखाएको छ।  

विगत ६ महिनाको तथ्यांक

त्यसै गरी विपद् प्राधिकरणको तथ्यांकअनुसार विगत पाँच वर्ष अर्थात् २०७७ देखि २०८१ सम्म पहिरोबाट ९८० जनाको मृत्यु भएको छ भने बाढीबाट २३९ जनाले ज्यान गमाएका छन्। त्यसै गरी भारी वर्षाका कारण ५५ जनाको ज्यान गएको छ भने मनसुनजन्य विपद्‍मा बेपत्ता हुनेहरूको संख्या पनि उत्तिकै छ। 

विगत ५ वर्षको तथ्यांक

विगतलाई हेर्दा २०७७ सालमा धेरै मानवीय क्षति भएको देखिन्छ। त्यसै गरी विपद्का कारण अर्बौँको क्षति समेत भएको छ। हरेक वर्ष हुने गरेको मनसुन र यसको क्षति प्रत्येक वर्ष दोहोरिँदै आएको छ। विज्ञहरू यसलाई पृथ्वीलाई 'ज्वरो' आएको भन्छन्। 

सामान्यतया अक्टोबर २ मा बिदा हुने मनसुन अहिले औसतमा १० दिन ढिला हुने गरेको छ। विगत दुई वर्षदेखि मनसुनको बहिर्गमनको समयमा अत्यधिक वर्षा भई जनधनको ठुलो क्षति हुनुमा वायुमण्डलीय प्रणालीमा आएको ठुलो उथलपुथल नै मुख्य कारण रहेको जलवायु विज्ञहरूको धारणा छ।

जलवायु तथा वातावरण विज्ञ उज्ज्वल उपाध्यायका अनुसार यस किसिमको मौसमी अराजकताको जड अत्यधिक कार्बन उत्सर्जन र त्यसबाट उत्पन्न विश्वव्यापी तापक्रम वृद्धि हो।

जलवायु तथा वातावरण विज्ञ उज्वल उपाध्याय

‘मनसुनको बहिर्गमनको समयमा समेत लगातार ठुलो वर्षा हुनुमा दुई प्रमुख मौसमी प्रणाली जिम्मेवार रहेको उनको तर्क छ। उनी भन्छन्, ‘अक्टोबरको पहिलो सातामा अरबी सागरबाट आएको उच्च चापीय प्रणालीले मनसुनलाई पश्चिमबाट बाहिरिन दिएन।’  

उक्त प्रणालीको दबाबले गर्दा मनसुनी बादलहरू नेपालको मध्य भूभाग खास गरी गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमै रोकिन पुग्यो र मनसुन पश्चिमबाट बाहिरिन अवरुद्ध भएर नेपालको केन्द्रमा अड्किरहेकै बेला बङ्गालको खाडीमा अर्को नयाँ मनसुनी प्रणाली विकसित भएको उनले बताए।

‘यो प्रणाली उडिशा, झारखण्ड र बिहार हुँदै दक्षिणबाट उत्तरतर्फ नेपाल प्रवेश गर्‍यो,’ उनी भन्छन्, ‘नेपालमा रोकिएको पुरानो मनसुन र बङ्गालको खाडीबाट आएको नयाँ प्रणाली एकापसमा मिसिँदा चरम वर्षा भयो।’ 

उनका अनुसार गत वर्ष र यस वर्षको मनसुनमा वर्षाको प्रकृति र कारण उस्तै छ, जहाँ दुई ठुला वायु प्रणालीको टक्करले क्षति निम्त्याएको हो। मौसमविद् उपाध्याय भन्छन्, ‘मनसुनको प्रणालीमा आएको यो परिवर्तन प्राकृतिक नभई मानव सिर्जित छ, विश्वमा औद्योगिक क्रान्ति हुनुभन्दा पहिले सिङ्गो वायुमण्डलमा करिब २२ हजार अर्ब टन कार्बन थियो।’

तर, औद्योगिक क्रान्ति सुरु भएपछि करिब कार्बनको मात्रा बढेर ३८ हजार अर्ब टन पुगेको छ। कार्बनको यो अत्यधिक मात्राले सूर्यको तापलाई धेरै सोसेर पृथ्वीको तापक्रम द्रुत गतिमा बढाएको उनले सुनाए।

‘करिब १९० वर्षको अवधिमा पृथ्वीमा कार्बनको मात्रामा ६५ प्रतिशतले वृद्धि हुँदा पृथ्वीलाई ज्वरो आएको छ, मानिसको शरीरको तापक्रम २ डिग्री फरेनहाइटले बढ्दा जसरी ज्वरो आउँछ,’ उनले उदाहरण दिँदै भने, ‘त्यसै गरी पृथ्वीलाई ज्वरो आएको अवस्था भएको कारण मनसुनको स्वरूप फेरिएको हो।’ पृथ्वीको तापक्रम बढ्दा वायु, जल र समग्र वर्षा प्रणालीमा ठुलो उथलपुथल आएको उनी बताउँछन्।  

मौसमी अराजकतामा विश्वव्यापी कारण  

नेपालमा मनसुन सकिने समयमा पनि लगातार ठुलो वर्षा हुनु र यसबाट जनधनको क्षति बढ्नुलाई जलवायु तथा वातावरण विज्ञले मौसमी अराजकताको रूपमा व्याख्या गरेका छन्। मनसुनको आवागमन मिति पनि जुन ९ बाट सरेर जुन १५ पुग्नुको साथै बहिर्गमनको मिति पनि सेप्टेम्बर २३ बाट सरेर अक्टोबर २ पुग्न थालेको छ, तर पनि केही वर्षदेखि उक्त मितिमा पूर्ण रूपमा मनसुन हट्न सकेको छैन।  

जलवायु तथा वातावरण विज्ञ मन्जित ढकाल 

जलवायु तथा वातावरण विज्ञ मन्जित ढकाल विगत दुई/तीन वर्षदेखि देखिएको यो प्रवृत्ति कुनै संयोग नभई विश्वव्यापी तापक्रम वृद्धिका कारण वायुमण्डलीय प्रणालीमा आएको ठुलो उथलपुथलको परिणाम रहेको बताउँछन्।  मनसुन बहिर्गमनको समयमा हुने अत्यधिक वर्षा अबको दिनमा नियमित हुने जोखिम बढेको उनले सुनाए।

‘जसको प्रमुख कारक जलवायु परिवर्तन पनि एक हो, जलवायु परिवर्तनको असरले मनसुनी प्रणालीमा पार्ने प्रभावलाई कम्पाउन्डिङ इफेक्टका रूपमा बुझ्नुपर्छ,’ ढकाल भन्छन्, ‘हामीसँग हाम्रा समस्या छँदै थिए, त्यसमाथि जलवायु परिवर्तनले समस्यालाई अझ बढी बढाइदियो, सहरीकरण र वन विनाशका कारण प्राकृतिक जल निकास प्रणाली बिग्रँदा सामान्य वर्षाले पनि ठुलो बाढीको रूप लिने गरेको छ।’ विश्वको औसत तापमान १ सय ७५ वर्षमा १ दशमलव पाँच प्रतिशतले बढेको छ भने नेपालको सन्दर्भमा करिब दुई प्रतिशतको हाराहारीमा पुग्न लागेको उनले सुनाए।  

यस पटकको मनसुनमा वीरगन्जमा २४ घण्टामा ३०० मिलिमिटरभन्दा बढी वर्षाको रेकड गरिएको थियो। असार महिनामा चरम सुख्खा हुने र मनसुन बाहिरिने समयमा चरम बर्खा हुने मौसमी अराजकता देखिएको विज्ञ बताउँछन्। ‘मनसुनको अराजकता आगामी वर्षहरूमा पनि दोहोरिने सम्भावना छ, यसलाई सामना गर्न तत्काल अध्ययन र नीतिगत पहल जरुरी छ,’ विज्ञ ढकाल भन्छन्, ‘बेमौसमी वर्षाको कारण भविष्यमा हुने थप असरको बारेमा भारतसहितका ठुला अन्तर्राष्ट्रिय निकायहरूसँग साझेदारी गरेर संयुक्त अध्ययन गर्नुपर्छ।’

विश्वमा पेट्रोलियम पदार्थको प्रयोग कम गर्दै जानुपर्ने र कार्बन उत्सर्जन घटाउन विश्वव्यापी रूपमा भइरहेको प्रयासमा नेपालले निरन्तर दबाब र पैरवी गर्नुपर्नेमा ढकालको जोड छ। साथै जलवायु परिवर्तनबाट हुने असरको नियन्त्रणका लागि राजनीतिक इच्क्षाशक्तिले पनि काम गर्नुपर्ने उनको भनाइ छ।   

प्रकाशित: २२ आश्विन २०८२ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App