नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल आयल निगमको संयोजकत्वमा पाँचतारे र्याडिसन होटलमा गरिएको अनुगमनपछि ग्यासको मौज्दात बढी रहेको भन्दै सार्वजनिक गरिएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार विज्ञप्ती जारी गर्दै चेम्बरले पाँचतारे होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक नभएको उल्लेख गरेको छ।
चेम्बरले पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटा ग्यास सिलिन्डरसम्म खपत हुने भएकाले र्याडिसन होटलमा करिब २०० हाराहारी सिलिन्डर मौज्दात रहनु स्वाभाविक रहेको बताएको छ।
'पाँचतारे होटलमा दैनिक करिब ५०–६० वटा ग्यास सिलिन्डरसम्म खपत हुनु स्वभाविक हो । तसर्थ,र्याडिसन होटलमा करिब २०० हाराहारी सिलिन्डर मौज्दात रहनु पनि स्वाभाविक नै हो', विज्ञप्तीमा भनिएको छ।
व्यावसायिक प्रयोजनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उचित नहुने चेम्बरको भनाइ छ।
विज्ञप्तीमा भनिएको छ,‘ नेपाल चेम्बर अफ कमर्स कृत्रिम अभाव, अवैध कारोबार वा कानूनविपरीतका कुनै पनि गतिविधिको समर्थन गर्दैन। तर वैध रूपमा सञ्चालनमा रहेका व्यवसायीक गतिविधिहरु हतोत्साहित गर्ने गरी गरिने अतिरञ्जित प्रचारले लगानीको वातावरणमा नकारात्मक असर पार्न सक्ने भएकाले यसतर्फ सबै पक्ष संवेदनशील हुन आवश्यक छ।’
त्यस्तै, होटल तथा पर्यटन व्यवसायलगायत अन्य उद्योग–व्यवसायसँग सम्बन्धित आपूर्ति, नियमन वा अन्य समस्या देखिएमा सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग आवश्यक संवाद र समन्वय गरेर समाधान खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ।
प्रकाशित: ३१ श्रावण २०८३ १४:४६ आइतबार





-600x400.jpg)