नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बिर्तामोडबाट ‘मिसन जागरण अभियान’ सुरु गरेका छन्।
एमालेले पालिका तथा वडा केन्द्रित रूपमा पार्टीको ‘मिसन जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेसँगै अध्यक्ष ओलीले झापाबाट अभियानको सुरुवात गरेका हुन्। अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरणलाई प्राथमिकता दिँदै आगामी प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर देशभर पार्टी गतिविधि विस्तार गर्ने योजना एमालेले अघि सारेको छ।
अभियानका लागि एमालेले केन्द्रीय कमिटीका ३०१ सदस्यसहित केन्द्रीय निकायका सदस्य तथा सल्लाहकार र प्रदेश तहका नेता–कार्यकर्तालाई विभिन्न पालिका तोकेर केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ।
अभियानअन्तर्गत झापामा पार्टी गतिविधिलाई तीव्रता दिन अध्यक्ष ओली शनिबार इलाम हुँदै झापा पुगेका थिए। अभियानमार्फत स्थानीय तहसम्म संगठनलाई थप सक्रिय बनाउने तथा पार्टी सदस्यता नवीकरण र संगठन विस्तारलाई प्रभावकारी बनाउने एमालेको तयारी छ।
प्रकाशित: ३१ श्रावण २०८३ १५:५४ आइतबार





