दिगो वन संरक्षणका लागि बाँकेमा दुई ठुला चक्ला वनलाई व्यवस्थित गरिएको छ। डिभिजन वन कार्यालय बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिका–२ र ८ तथा वडा नम्बर ३ मा चक्ला वन निर्माण गरेको हो। कार्यालयले राप्ती सोनारी–२ र ८ मा पर्ने ‘सम्शेरगन्ज–माधेवास’ तथा वडा नम्बर ३, ४ र १ मा पर्ने भूवर भवानी चक्ला वनलाई व्यवस्थित गरेको हो।
कार्यालय प्रमुख एवं सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार ‘सम्शेरगन्ज–माधेवास’ चक्ला वन २ हजार ५ सय ७८ हेक्टर क्षेत्रफलमा फैलिएको छ, भने भूवर भवानी चक्ला वन २ हजार ५ सय ७२ हेक्टरमा रहेको छ। चक्ला वनबाट दिगो रूपले वन संरक्षण, राजश्व संकलन र स्थानीयलाई रोजगारी सिर्जना भएको प्रमुख गुप्ताले बताए। ‘यो चक्लाबन्दी वन सम्वर्द्धन प्रणालीमा रहेर सञ्चालन गरिएको वनको दिगो व्यवस्थापन र वन सम्वर्द्धन कार्यक्रम हो,’ प्रमुख गुप्ताले नागरिकसँग भने, ‘चक्ला वनमा उमेर पुगेका रुखलाई निश्चित मापदण्डमा रही कटान गर्ने र नयाँ रुख हुर्कनका लागि वैज्ञानिक विधिमा उपयुक्त वातावरण सिर्जना गरिएको हुन्छ।’
चक्ला वन क्षेत्रमा पुराना रुख हटाउँदा बर्सेनि नयाँ रुख, बिरुवा हुर्किन पाइरहेको सिनियर डिभिजनल अधिकृत गुप्ताले बताए। उनका अनुसार नयाँ बिरुवालाई आवश्यकता अनुसारको संख्या, गुणस्तर र प्रजातिलाई समीश्रण गरेर हुर्कन मद्दत गरिन्छ। चक्ला वनका रूपमा घोषित क्षेत्रलाई विभिन्न खण्ड र उप–खण्डमा विभाजन गरिएको छ। क्षेत्रफलका हिसाबले ‘शमशेरगन्ज–माधेवास’ र भूवर भवानी चक्ला वन देशकै सबैभन्दा ठुलो चक्ला वन रहेको कार्यालयले जनाएको छ।
चक्ला वन क्षेत्रको कम्पार्टमेन्ट (खण्ड)बाट सव–कम्पार्टमेन्टमा विभाजन गरेर हरेकमा वार्षिक रूपमा पालै–पालो उमेर पुगेका रुख हटाउने र नयाँ रुखलाई हुर्काउन आवश्यक व्यवस्थापन मिलाउने गरेका छौं,’ गुप्ताले भने, ‘बाँकेमा नेपालकै ठुला सम्शेरगन्ज–माथेबास र भूवर भवानी चक्ला वन रहेका छन्।’ उनका अनुसार बिरुवा पुनर्उत्पादनका लागि ८० वर्षको समय निर्धारण गरिएको छ।
डिभिजन वन कार्यालय बाँकेका योजना शाखा प्रमुख एवं सहायक वन अधिकृत सुशिल सुवेदीका अनुसार आर्थिक २०७३/०७४ वर्षदेखि सुरु भएको सम्शेरगन्ज–माथेबास चक्ला वन व्यवस्थापन कार्यक्रमबाट वार्षिक रूपमा १० करोड ७४ लाख बढी राजश्व संकलन भइरहेको छ। कार्यालयले चालु आ.व. २०८२/०८३ बाट कार्यान्वयनमा ल्याएको ‘भूवर भवानी चक्ला वन’ बाट पनि वार्षिक रूपमा सोही हराहारीमा राजश्व संकलन हुने अनुमान गरेको छ।
चक्ला वन व्यवस्थापन गर्दा दुवै क्षेत्रमा करिव ३० देखि ३५ जना कर्मचारीले वर्षभरि रोजगारी पाएको र ४ सयदेखि साढे ४ सय जना स्थानीय बासिन्दाले पनि प्रत्यक्ष लाभ लिन पाएको कार्यालयले जनाएको छ। उनीहरू रुख कटान मुछान, घाटगद्धी, वनपथ निर्माण, मर्मत लगायत सम्बन्धी काममा जोडिएका छन्। ‘चक्ला वनलाई व्यवस्थापन गरेर नयाँ रुख बिरुवा हुर्कने, वनको उत्पादन बढ्ने र वन पनि व्यवस्थापन हुन्छ,’ सहायक वन अधिकृत सुवेदी भन्छन्, ‘यसबाट बजारमा काठ दाउराको पनि सहज आपूर्ति हुन्छ, देश काठमा आत्मनिर्भर हुन्छ र स्थानीयलाई रोजगारी सिर्जना पनि हुन्छ।’
कार्यालयका अनुसार सामुदायिक वनभन्दा बाहिर अझै बाँकेमा ३० हजार हेक्टर जति वन क्षेत्रलाई सरकारले अझै व्यवस्थित गर्न सकेको छैन। आगामी दिनमा पनि आवश्यक जनशक्तिलाई जोडेर बाँकी रहेको राष्ट्रिय वन क्षेत्रलाई पनि चक्ला वनका रूपमा व्यवस्थापन गरेर दिगो वन व्यवस्थापन गरी उपभोक्तालाई काठ, दाउराको आपूर्तिसँगै सरकारको लागि राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य छ।
घर निर्माणमा काठको प्रयोग बढाउने, विदेशी काठको आयात निरुत्साहित गर्ने, पिभिसी र आल्मुनियमको प्रयोग घटाउन चक्ला वनबाट उत्पादित काठलाई छिटो र छरितो रूपले उपभोक्तालाई उपलब्ध गराउने काम कार्यालयले गरिरहेको योजना शाखा प्रमुख सुवेदी बताउँछन्।
प्रकाशित: ३० जेष्ठ २०८३ १४:५४ शनिबार

