१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

रेडक्रसले भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन गर्ने

नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवस आज ‘मानवताको लागि एकबद्ध होऔँ’ भन्ने नाराका साथ मनाइँदै छ।

विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा २०२० साल भदौ १९ गतेका दिन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घको सदस्य र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा आबद्ध भई नेपाल रेडक्रसको स्थापना भएको हो।

यस सोसाइटीका करिव १० लाखभन्दा बढी स्वयंसेवकहरू मानवीय सेवाका कार्यहरूमा तल्लीन रहेका महामन्त्री ऋषिरमण खनालले जारी गरेको सन्देशमा उल्लेख छ। हाल सोसाइटीको सात प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार ६२३ उपशाखा, ११५ सहयोग समिति र छ हजार ५८७  जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचनाहरू रहेका छन्।

नेपाल रेडक्रसले सरकारको सहयोगीका रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधिहरू देशैभरि सञ्चालन गर्दै आएको छ। यस्ता सेवा तथा विकासमूलक कार्यक्रमबाट वार्षिक रूपमा ३५ लाख व्यक्तिहरू लाभान्वित भएका सन्देशमा जनाइएको छ।

यही भदौ १० गते रसुवा भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको प्रतिकार्यको लागि नेपाल रेडक्रसले सुरू देखिनै स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार, राहत वितरण, मनोसामाजिक परामर्श सेवा, अस्थायी आवासजस्ता क्षेत्रमा सेवा पुर्‍याइरहेको जनाएको छ।

यस प्रतिकार्यमा हालसम्म एक हजार ४१८ त्रिपाल, एक हजार ५२० कम्बल, एक हजार ९३० शव व्यवस्थापन झोला, ७१५ म्याट्रेस, ८० वटा अस्थायी शौचालयलगायतका सामग्री वितरण गरिएको छ।

त्यस्तै, प्राथमिक उपचार बक्स ५५ थान, मर्यादा सामग्री ७६० थान, एन ९० फाइभ मास्क नौ हजार, सरसफाइ स्वच्छता सामग्री ३९२ थानलगायतका सामग्री वितरण गरिएका छन्। नेपाल रेडक्रस सोसाइटीबाट बाढी प्रतिकार्यका लागि झण्डै पाँच हजार जना स्वयंसेवक परिचालन गरिएको छ।

बाढीप्रभावित क्षेत्रमा राहतका साथै भविष्यमा उत्थानशील समुदाय निर्माणका लागि पुर्नलाभका कार्यक्रम गर्ने गरी नेपाल रेडक्रसले योजना तयार गरिरहेको छ। बाढी प्रतिकार्यका लागि रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ ‘आइएफआरसी’, रेडक्रसको अन्तर्राष्ट्रिय समिति ‘आइसीआरसी’, साझेदार राष्ट्रिय सोसाइटीहरूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रकाशित: १९ भाद्र २०८३ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App