२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

बालबालिकाको पोषण भत्ता हिनामिना गरेको आरोपमा तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाल संरक्षण भत्ता वितरणमा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिमा आर्थिक वर्ष २०६८/६९ को बाल संरक्षण भत्ता वितरणमा   अनियमितता गरेको आरोपमा तत्कालीन सचिवसहित तीन जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आयोगका अनुसार आर्थिक वर्ष २०६८/६९ मा जिल्ला विकास समिति, महोत्तरीबाट बाल संरक्षण भत्ताका लागि निकासा भएको रु. ३ लाख ७ हजार २०० रकम निकासा भएकोमा बालबालिकाको पोषण भत्ता वितरण गरेको भरपाईको सहिछाप महलमा प्रतिवादीहरूले आफैँले र अन्य व्यक्तिलाई औँठाछाप गर्न लगाई भत्ता बुझेको नक्‍कली भरपाई खडा गरी उक्त रकम हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएको छ। 

प्रयोगशाला परीक्षणबाट समेत भरपाईमा लाभग्राहीका नाममा नक्कली सहीछाप गरिएको देखिएको आयोगले जनाएको छ।

तत्कालीन कार्यालय सहायक उमाकान्त महतो, तत्कालीन गाविस सचिव महेश्वर महतो कोइरी र तत्कालीन जिल्ला विकास समिति, महोत्तरीका सहायक लेखापाल सुरुज साहबीच मिलेमतो गरी सरकारी रकम हिनामिना गरेको अख्तियारको निष्कर्ष छ।

आयोगले तीनै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गर्दै प्रत्येकबाट रु ३ लाख ७ हजार २०० बिगो असुल, बिगो बराबर जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागदाबी गरेको छ।

प्रकाशित: ८ श्रावण २०८३ १४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App