९ मंसिर २०८३ बुधबार
image/svg+xml
समाज

विदेश पार्सल पठाउँदा ‘बार्गेनिङ’ गरी २० हजार घुस लिने हुलाकका नासुविरुद्ध मुद्दा दायर

विदेशमा सामान कुरियर गरी पठाउँदा सेवाग्राहीसँग बार्गेनिङ गरेर २० हजार रुपैयाँ घुस लिएको आरोपमा गोश्वारा हुलाक कार्यालय, पार्सल शाखा डिल्लीबजारमा कार्यरत नायब सुब्बा छबि प्रसाद रिजालसमेतविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो।

कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा आयोग, टङ्गालबाट खटिएको टोलीले रिजाललाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा रिजालसमेतले पद तथा ओहदाको दुरुपयोग गरी बदनियत राखी आपसी मिलेमतो र योजनामा सेवाग्राहीको सामान गोश्वारा हुलाक कार्यालयमार्फत कुरियर गरी विदेश पठाउन विभिन्न बहाना बनाई बार्गेनिङ गरेर २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता पर्वत गिरीले जानकारी दिए।

उनका अनुसार रिजालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकाले सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ।

प्रकाशित: ९ मंसिर २०८३ १६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App