२८ असार २०८३ आइतबार
image/svg+xml
समाज

पर्यटनसम्बन्धी कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५/७६ को स्वीकृत कार्यक्रमअन्तर्गत मन्दिर निर्माणका लागि निकासा भएको रकम हिनामिना गरेको पाइएको छ।

आयोगले गरेको अध्ययनअनुसार छवीसपाथीभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवता मन्दिर निर्माणका लागि रु ४५ लाख बराबरको रकम विनियोजन भएको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको बजेट तथा कार्यक्रमसहितको पत्रबमोजिम निकासा लिने, खर्च गर्ने, लेखा राख्ने, लेखापरीक्षण गराउने र बेरुजु फछ्र्यौट समेतको जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई दिइएको थियो।

स्वीकृत लागत अनुमान रु ५६ लाख सात हजार ८९७ मध्ये उपभोक्ता सहभागिता रु ११ लाख सात हजार ८९७ र कन्टिन्जेन्सीतर्फ रु दुई लाख २५ बराबरको बजेट थियो।

निर्माण भएकोभन्दा बढी काम भएको देखाई अस्वाभाविक दर राखी र सम्झौता बमोजिमको जनसहभागिता रकम कट्टा गरी नक्कली बिल भरपाईका आधारमा रु २२ लाख एक हजार ६६५ बराबरको रकम भुक्तानी गरेको आयोगको भनाइ छ।

आयोगले दुर्गाथली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मकरबहादुर मण्डेल, लेखापाल प्रेमप्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इञ्जिनियर हिक्मत रावल र सबइन्जिनियर बमबहादुर बोहराविरुद्ध रु २२ लाख एक हजार ६६५ बराबरको बिगो माग दाबी गरेको छ।

छविसपाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिकाकुमारी रतला, वडा नं ६ का वडाअध्यक्ष मोहनलाल विकविरुद्ध पनि समान बिगो बराबरको मागदाबी गरिएको छ।

बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्णबहादुर बुढा, सचिव जयबहादुर बुढा र कोषध्यक्ष मधुलीदेवी बुढाविरुद्ध पनि समान बिगो र कैद सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रकाशित: १५ असार २०८३ १८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App