बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको भवनहरूको २५ वर्षपछि नक्सापास (अभिलेखीकरण) गरिएको छ। अस्पतालका २९ भवनको एकैपटक नक्सापास गरिएको हो।
विसं २०४९ मा शिलान्यास गरेर काम थालिएको अस्पताल २०५६ बाट नियमित सञ्चालनमा आएको थियो। हाल पेट स्क्यान र बोनम्यारो प्रत्यारोपणका लागि भवन निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएपछि भरतपुर महानगरपालिकामा भवनहरूको अभिलेखीकरण गरिएको हो।
अस्पतलका कार्यकारी निर्देशक डा. शिवजी पौडेलका अनुसार भवन निर्माणको क्रममा कुनै भवनको नक्सा पास नरहेकाले सबैको नक्सा बनाएर अभिलेखीकरण गरिएको हो।
नक्सा बनाउन २२ लाख रूपैयाँ हाराहारी खर्च भएको छ। अभिलेखीकरणका लागि महानगरपालिकामा एक करोड ७८ लाख रूपैयाँ राजस्व बुझाएको उनले बताए।
उक्त अस्पताल भवन चीन सरकारले बनाइदिएको हो। पछिल्लो समय केही भवन भने नेपाल सरकारले बनाइदिएको थियो। बोनम्यारो प्रत्यारोपणका लागि समेत चीन सरकारले भवन, उपकरण र जनशक्ति व्यवस्थापन सहयोग गर्दैछ। दीर्घकालीन प्रभावका महत्त्वपूर्ण काम भइरहेको उनले बताए। भवनहरूको अभिलेखीकरण भएसँगै अन्य महत्त्वपूर्ण कामअघि बढेको उनको भनाइ छ। जिल्लामा सरकारीस्तरमा जिल्ला प्रशासन कार्यालय र क्यान्सर अस्पतालका भवन मात्र महानगरमा अभिलेखीकरण भएका छन्। धेरैजसो सरकारी कार्यालय भवन अभिलेखीकरण भएका छैनन्।
प्रकाशित: २ भाद्र २०८२ १३:२७ सोमबार





