ताप्लेजुङस्थित कञ्चनजंघा संरक्षण क्षेत्रको तल्लो भागमा समुदायको आफ्नै सहभागितामा २ महिनासम्म गरिएको क्यामरा ट्रयापिङको अवस्था र आगामी दिनमा गर्न सकिने संरक्षण अभियानको सुझाव संकलन कार्यक्रम आइतबार फुङलिङमा सुरु भएको छ ।
दुईदिनसम्म चल्ने उक्त कार्यक्रममा क्यामरा ट्रयापिङमा संलग्न समुदायका अगुवाहरुले क्यामरा ट्रयापिङमा प्राप्त नतिजा र अनुभव प्रस्तुत गर्नेछन् । युनेस्कोको सहयोगमा सञ्चालित उक्त कार्यक्रमका प्रोजेक्ट लिड बर्षा लेखीका अनुसार फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका ५ वटा ब्लकमा ६४ वटा क्यामरा जडान गरी वैज्ञानिक उपकरण सञ्चालन तथा जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।
जैविक विविधता संरक्षणमा समुदायको सहभागिता सुद्रिढीकरण गर्न सञ्चालित कार्यक्रमबाट प्राप्त नतिजा प्रस्तुत गरेपछि आगामी दिनमा के कस्ता अभियानहरु सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा सुझाव समेत ग्रहण गरिने लेखीले जानकारी दिइन् ।
फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ तापेथोक, ६ लेलेप, ७ ओलाङचुङगोला र सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिन कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्छ । संरक्षण क्षेत्रमध्ये फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ तापेथोक र वडा नं ६ लेलेपका ५ वटा ब्लकमा क्यामरा ट्रयापिङ गरिएको हो ।
कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बो लिम्बूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युनेस्कोका प्रमुख याको, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्रा(रविन), समृद्ध पहाड परियोजनाका नेपाल प्रमुख सञ्जिव न्यौपाने, फक्ताङलुङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष पेम्बाटाँसी शेर्पा, परिषद्का सदस्यहरु, क्यामरा ट्रयापिङमा संलग्न समुदायका अगुवा सहितको सहभागिता रहेको छ ।
प्रकाशित: १६ कार्तिक २०८२ १६:२२ आइतबार





