चितवनको सौराहामा हुन लागेको हात्ती महोत्सवको बारेमा पुनर्विचार गर्न आह्वान गरिएको छ। पशु अधिकारकर्मी तथा यससम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाहरूले सोमबार साँझ संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै हात्ती महोत्सवको पुनर्विचार गर्न आह्वान गरेका हुन्। पशु अधिकारकर्मीले विज्ञप्ति मार्फत हानिकारक पदार्थहरूको प्रयोग, प्राकृतिक स्वरूपको सम्मान र हात्ती फुटबल तथा पेनाल्टी तत्काल बन्द गर्न माग गरेका छन्।
संयुक्त विज्ञप्ति जारी गर्दै २७ संघसंस्थाले हात्ती मनोरञ्जनका लागि नभइ उनीहरूको अधिकारका लागि ख्याल गर्न माग गरेका छन्। उनीहरूले हात्तीहरूको कल्याणस्तर सुधार गर्न केही प्रयास गरेता पनि सार्वजनिक प्रयोग र कार्यक्रमहरूका लागि हात्तीहरूलाई प्रशिक्षण दिने तरिका अप्राकृतिक, अमानवीय र क्रुर हुने दाबी गरेका छन्।
कार्यक्रममा र्याली, सुन्दरी प्रतियोगिता, खेलकुद वा अन्य महोत्सव गतिविधिहरूका लागि हात्तीलाई प्रशिक्षित गर्ने प्रक्रिया तनाव, डर र पीडायुक्त हुने भन्दै उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउने पशु अधिकारकर्मीहरूको भनाइ छ।
हात्तीहरू अत्यन्त बौद्धिक, सामाजिक र संवेदनशील प्राणी भएको भन्दै पर्यटन योगदानको नाममा यस्ता गतिविधिहरूका लागि संवेदनशील प्राणीहरूको गरिमा र प्राकृतिक व्यवहारको बलिदान दिन बाध्य नबनाउन समेत उनीहरूले चेतावनी समेत दिएका छन्।
हात्ती सुन्दरताको नाममा प्रयोग गरिने सेतो चकमा क्याल्सियम सल्फेट वा क्याल्सियम कार्बोनेट हुने हुँदा यसको धुलोले आँखा तथा छालामा असर पुर्याउने हुँदा रातो सिन्दुर अविर सीनाबारबाट बनाइएको रङ प्रयोग नगर्न समेत अनुरोध गरिएको छ। सरकार, पर्यटन निकाय, महोत्सव आयोजकहरू र प्रायोजकहरूलाई मनोरञ्जनभन्दा संरक्षण र प्राकृतिक व्यवहारलाई प्राथमिकता दिँदै हात्तीमैत्री नौतिक पर्यटनको रुपान्तरणमा लैजान उनीहरूले अनुरोध गरेका छन्।
चितवनको सौराहामा डिसेम्बर २६ देखि २८ गतेसम्म चितवन हात्ती तथा पर्यटन महोत्सव हुँदै छ।
प्रकाशित: ८ पुस २०८२ १३:१० मंगलबार





