राष्ट्रिय बाल अधिकार परिषद्ले यस वर्षको राष्ट्रिय बाल दिवस बाढी प्रभावित बालबालिकाको संरक्षण र सुरक्षालाई प्राथमिकतामा राखेर मनाउन आग्रह गरेको छ।
परिषद्ले भदौ २९ गते मनाइने राष्ट्रिय बाल दिवसका अवसरमा बालबालिकाको उद्धार, राहत, संरक्षण, अस्थायी संरक्षण, परिवारको खोजतलास तथा पुनर्मिलनलाई प्राथमिकतामा राख्न सम्बन्धित सरोकारवाला निकाय, विद्यालय, संघसंस्था तथा नागरिक समाजलाई आग्रह गरेको हो।
परिषद्का अनुसार भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो धनजनको क्षति भएको छ। बाढीका कारण कतिपय बालबालिकाले बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका छन् भने केही बालबालिका आफैं घाइते वा बेपत्ता भएका छन्।
बाढी तथा विपद्को अवस्थामा बालबालिका हराउने, परिवारबाट छुट्टिने, हिंसा तथा शोषणमा पर्ने, बेचबिखन तथा ओसारपसारको जोखिममा पर्ने र आधारभूत सेवा तथा संरक्षणबाट वञ्चित हुन सक्ने जोखिम रहने परिषद्ले जनाएको छ।
यस्तो अवस्थामा बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राख्दै बालमैत्री उद्धार, राहत, संरक्षण तथा अस्थायी संरक्षणका साथै मनोसामाजिक परामर्श र परिवारको खोजतलास तथा पुनर्मिलनमा विशेष ध्यान दिनुपर्ने परिषद्को भनाइ छ।
राष्ट्रिय बाल दिवस २०८३ का लागि ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नारा तय गरिएको छ। तर देश बाढीका कारण पीडा र शोकमा रहेको वर्तमान अवस्थालाई ध्यानमा राख्दै बालबालिका केन्द्रित कार्यक्रममार्फत दिवस मनाउन परिषद्ले अनुरोध गरेको छ।
बालबालिकाको अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन तथा परिपूर्तिको जिम्मेवारी प्राकृतिक बाबुआमा, परिवारका सदस्य, संरक्षक र राज्यको साझा दायित्व भएको परिषद्ले जनाएको छ।
परिषद्ले बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको सुनिश्चितताका लागि नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बन्नसमेत आग्रह गरेको छ।
परिषद्ले भदौ २६ गते जारी गरेको विज्ञप्तिमा ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने सन्देशसमेत उल्लेख गरेको छ।
प्रकाशित: २७ भाद्र २०८३ ०६:३० शनिबार





