यमनका इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड सी) को दक्षिणी प्रवेशद्वारमा रहेको रणनीतिक टापु पेरिम कब्जा गरेको यमनी सरकारी स्रोतहरूले बताएका छन्।
बाब अल-मन्डेब जलमार्गमा रहेको यो टापु विश्वकै महत्त्वपूर्ण ढुवानी मार्गमध्ये एकमा पर्छ। हुथीहरूले टापु कब्जा गरेसँगै यमनको लाल सागर तटमा आफ्नो नियन्त्रण थप बलियो बनाएका छन्। उनीहरूले साउदी जहाजबाहेक अन्य कम्पनीका जहाजका लागि समुद्री मार्ग सुरक्षित रहेको बताएका छन्।
यसैबिच, इराकबाट आएको ड्रोन आक्रमणपछि साउदी अरेबियाले आफ्नो महत्त्वपूर्ण पूर्व-पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। साउदी ऊर्जा मन्त्रालयले यसलाई ‘सावधानीको उपाय’ भनेको छ। आक्रमणमा केही क्षति भएको र त्यसको मूल्यांकन भइरहेको साउदी विदेश मन्त्रालयले जनाएको छ।
साउदी अरेबियाले ड्रोन इराकबाट आएको बताए पनि आक्रमण कसले गर्यो भन्ने कुरा स्पष्ट पारेको छैन। इराकले आक्रमणको निन्दा गर्दै अनुसन्धान थालेको जनाएको छ भने साउदीले तत्काल प्रतिशोध नलिने बताएको छ।
एक हजार २०० किलोमिटर लामो पूर्व-पश्चिम पाइपलाइन साउदी तेललाई होर्मुज जलमार्ग पार नगरी विश्व बजारसम्म पुर्याउने महत्त्वपूर्ण वैकल्पिक मार्ग हो। पछिल्ला महिनामा यसबाट दैनिक ४० लाखदेखि ५० लाख ब्यारेलसम्म तेल ढुवानी हुँदै आएको थियो।
हुथीहरूको पछिल्लो विस्तारले विश्वव्यापी तेल आपूर्तिमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ। शुक्रबार तेलको मूल्य घटे पनि यस हप्ताको अन्त्यमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि पुग्ने क्रममा थियो।
यसैबिच, साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन संवाद गरेर हुथीविरुद्ध अमेरिकी सैन्य सहयोग मागेको छन्। अमेरिकाले तत्काल प्रत्यक्ष सैन्य कारबाही गर्न नचाहे पनि गुप्तचर सहयोग र लक्ष्य पहिचानमा मद्दत गर्ने बताएको स्रोतहरूको दाबी छ। एजेन्सीको सहयोगमा
प्रकाशित: २७ भाद्र २०८३ ०६:३३ शनिबार





