प्राज्ञिक अनुसन्धानका लागि नेपाल पानी सदुपयोग फाउन्डेसन (नेपासफा) ले प्राकृतिक स्रोत र संसाधनको रक्षामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिने ‘राष्ट्रिय स्रोत रक्षक सम्मान २०८३’ का लागि मनोनयन आह्वान गरेको छ।
फाउन्डेसनले यस वर्षको सम्मानका लागि उपयुक्त पात्रको नाम सिफारिस गर्न इच्छुक नेपाली नागरिकहरूलाई सार्वजनिक अनुरोध गरेको हो।
सम्मानित हुने व्यक्तित्वलाई दोसल्ला ओढाएर सम्मान-पत्रका साथै १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। फाउन्डेसनका सदस्य रत्न संसार श्रेष्ठले आफ्ना स्वर्गीय मातापिता बद्रीलक्ष्मी श्रेष्ठ र रत्नबहादुर श्रेष्ठको स्मृतिमा स्थापना गरेको अक्षय कोषबाट यो सम्मान प्रदान गर्न लागिएको हो।
नेपालमा विभिन्न विधामा योगदान गर्नेहरूलाई पुरस्कृत गर्ने परम्परा रहे तापनि भूमि, जल र वातावरणजस्ता आधारभूत प्राकृतिक स्रोतको रक्षामा समर्पित व्यक्तित्वहरूको उचित पहिचान र सम्मान हुन नसकेको महसुस गर्दै यो सम्मान सुरु गरिएको फाउन्डेसनले जनाएको छ।
प्राकृतिक स्रोतको दोहन र जोखिम बढिरहेको वर्तमान सन्दर्भमा यस्ता विधामा योगदान गर्नेहरूको खोजी गर्नु अपरिहार्य रहेको संस्थाको ठहर छ।
संस्थाले यो गौरवपूर्ण परम्परालाई निरन्तरता दिने क्रममा गत वर्ष देखि १ लाख रुपैयाँ राशिको यो सम्मान पुनः सुरु गरेको हो। यसअघि यो विधाबाट वाग्मती सभ्यता संरक्षणका ऐतिहासिक अभियन्ता स्व. हुतराम वैद्य र जल सम्पदाको महत्त्व उजागर गर्ने स्व. हरिमान श्रेष्ठ सम्मानित भइसकेका छन्।
त्यस्तै, २०८२ सालमा नेपालको पानी र प्राकृतिक स्रोतको रक्षामा पाँच दशकदेखि सक्रिय भुवनेश्वर कुमार प्रधानलाई यो सम्मान प्रदान गरिएको थियो।
मनोनयनका लागि केही निश्चित मापदण्ड र प्रक्रियाहरू तोकिएका छन्। फाउन्डेसनका अनुसार कुनै पनि व्यक्तिले आफूलाई आफैँ मनोनयन गर्न पाउने छैनन्। राष्ट्रिय महत्त्वका विविध विधा, विशेष गरी जमिन, जलस्रोत र प्राकृतिक वातावरणको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको व्यक्तित्वलाई मात्र मनोनयन गर्न सकिनेछ।
मनोनयन गर्दा मनोनित व्यक्तिको संक्षिप्त विवरण, राष्ट्रिय स्रोत रक्षाका लागि निजले गरेको विशिष्ट योगदानको प्रमाणित सामग्री र सम्पर्क ठेगाना पेस गर्नुपर्नेछ।
साथै, मनोनयनकर्ताको आफ्नै सम्पर्क विवरण पनि अनिवार्य गरिएको छ। सार्वजनिक पदमा रहेर वा नरहेर वृहत्तर जनहित र राष्ट्रिय स्रोतको रक्षाका लागि उल्लेखनीय काम गरेको व्यक्ति हुनुपर्ने मापदण्डमा उल्लेख छ।
सम्मानका लागि मनोनयन पेस गर्ने अन्तिम मिति २०८३ असार १५ गतेसम्म तोकिएको छ। मनोनयनकर्ताले आफ्नो नजिकको नातेदार, परिवारको सदस्य वा अन्य स्वार्थ बाझिने सम्बन्ध भएका व्यक्तिलाई मनोनयन गर्न नपाइने संस्थाले स्पष्ट पारेको छ।
इच्छुक व्यक्तिहरूले फाउन्डेसनको इमेल ‘nepasafa@gmail.com’ मार्फत आफ्नो सिफारिस पठाउन सक्नेछन्।
प्रकाशित: १ असार २०८३ २१:१६ सोमबार





