२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान

नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ।

बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस उपसमितिले शुक्रबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको हो। नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम स्थापना भएको बोर्डको सीईओ पदका लागि इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र आवेदन दिन सकिनेछ।

सीईओका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्नेछ। साथै, प्रचलित कानुनबमोजिम उम्मेदवार हुन अयोग्य नभएको हुनुपर्नेछ।

आवेदनसँग उम्मेदवारले शैक्षिक तथा अनुभवसम्बन्धी प्रमाणित कागजातका अतिरिक्त नेपाल पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि गर्नुपर्ने गतिविधि समेटिएको ३ हजार शब्दमा नबढ्ने रणनीतिक कार्ययोजना पेश गर्नुपर्नेछ।

त्यस्तै, आफूले काम गरेको संस्था वा संगठनमा आफ्नै प्रयासबाट हासिल गरेका उल्लेख्य उपलब्धिबारे एक हजार शब्दमा नबढ्ने प्रतिवेदन पनि पेश गर्नुपर्नेछ। कुनै सार्वजनिक संस्थाको विभागीय जिम्मेवारीमा रहेका उम्मेदवारले विभागीय स्वीकृति पत्रसमेत बुझाउनुपर्नेछ।

आवेदन दस्तुरबापत १५ हजार रुपैयाँ नेपाल पर्यटन बोर्डको नाममा नबिल बैंक लिमिटेड, तीनधारा शाखामा रहेको खातामा जम्मा गरी बैंक भौचर आवेदनसँगै पेश गर्नुपर्नेछ।

आवेदन बोर्डको भृकुटीमण्डपस्थित कार्यकारी प्रमुखको सचिवालयमा बुझाउन सकिनेछ। त्यस्तै, आवश्यक कागजात संलग्न गरी hr@ntb.org.np मा इमेलमार्फत समेत आवेदन दिन सकिनेछ। इमेलबाट आवेदन दिने उम्मेदवारले बैंक भौचर तथा प्रमाणित प्रतिलिपि कागजातहरू प्रस्तुतीकरणका क्रममा उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ।

सीईओ छनोटसम्बन्धी विभिन्न चरणका सूचना नेपाल पर्यटन बोर्डको वेबसाइटमा प्रकाशन गरिने जनाइएको छ। छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि बोर्डको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ।

प्रकाशित: २६ भाद्र २०८३ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App