नेपाल–भारत सीमा नाका जमुनाहामा करिब डेढ महिनासम्म सुनसान रह्यो। पछिल्ला १५ दिनयता भने त्यहाँ केही चहलपहल बढेको छ। नेपाली उपभोक्ताहरूले भारतीय बजार रुपैडिहा पुगेर दैनिक उपभोग्य सामान ल्याउन थालेका छन् तर नाकामा पहिलाको जस्तो थेगिनसक्नु भिडभाड भने हुँदैन। ‘सरकारले एक सय रुपैयाँभन्दा बढीको सामानको भन्सार गराउनुपर्ने नियम लागु गराएपछि नाका सुनसानजस्तै थियो, अहिले पाँच सय रुपैयाँसम्मको सामानमा भन्सार नलाग्ने नियम आएपछि केही चहलपहल बढेको छ,’ जमुनाहा नाकामा भेटिएका अटोरिक्सा चालक शंकर क्षेत्रीले भने।
भारतबाट नेपालमा एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानको भन्सार शुल्क अनिवार्य रूपले तिर्नुपर्ने नीति यसअघि थियो। सोही नीतिलाई नेपालगन्ज भन्सार कार्यालयले कडाइसाथ कार्यान्वयनमा ल्याउँदा गत वैशाखदेखि जेठको दोस्रो सातासम्म सर्वसाधारण नागरिकको आवतजावतमा कमी आएको थियो।
चौतर्फी दबाबपछि सरकारले गत जेठ १५ गते सरकारले संशोधन गरी पाँच सय रुपैयाँभन्दा बढीको सामानको भन्सार शुल्क लिने नीतिलाई अहिले कार्यान्वयनमा ल्याएको छ। उक्त संशोधित नीतिमा भनिएको छ, ‘पाँच सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथै ल्याए वा लगे भन्सार प्रमुखले औचित्य हेरी महसुल नलिई छाड्न सक्ने छ।’
उक्त नीति संशोधनपछि नाकामा सर्वसाधारण नागरिकको चहलपहल थोरै बढेको भन्सार कर्मचारी बताउँछन्।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनाद्र्धन पौडेलले भन्सार शुल्क लिने व्यवस्था एक सय रुपैयाँबाट पाँच सय रुपैयाँमा पुर्याउँदा नाकामा आवतजावत केही मात्रामा बढेको बताए। ‘भन्सार शुल्कको व्यवस्था पाँच सयमा पुर्याएपछि नाकामा आवतजावत केही बढेको छ,’ उनले नागरिकसँग भने, ‘भन्सार शुल्कमा सहुलियत दिँदा राजस्व संकलनमा थोरै असर त पर्छ नै तर ठुलो असरचाहिँ पर्दैन।’
सरकारले सर्वसाधारणलाई सहुलियत दिन एक सयबाट बढाएर पाँच सय रुपैयाँभन्दा बढीको सामानबाट भन्सार शुल्क लिने नीतिलाई संशोधन गरेको प्रमुख पौडेलले प्रस्ट्याए। यो नीतिले सामान्य खालका नागरिकलाई राहत दिएको उनको दाबी छ।
भन्सार कार्यालयका अनुसार नेपाल–भारत जमुनाहा नाका भएर यसअघि दैनिक रूपमा ३२ हजारको हाराहारीमा नागरिक र ६ सयको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्थे। अहिले घटेर आधाभन्दा पनि कम संख्यामा नागरिकहरू र सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन्।
भन्सार प्रमुख पौडेलका अनुसार कार्यालयले यात्रु शाखाबाट यसअघि दैनिक रूपमा तीनदेखि चार लाख रुपैयाँसम्म भन्सार शुल्क संकलन गर्ने गरेकोमा भन्सार नीतिमा कडाइ गर्दा पछिल्लो समय राजस्व संकलनको दर केही बढेको छ। ‘नाकामा कडाइ हुनेबित्तिकै स्वाभाविक रूपले राजस्व त बढ्छ तर राजस्व दरमा ठुलै अन्तर भने हुँदैन,’ उनले भने।
कार्यालयले साना मूल्यका सामानको भन्सार शुल्क उठाउन जमुनाहामा यात्रु शाखा राखेको छ भने ठुला मालवाहक सवारीसाधनको भन्सार शुल्क र जाँचपासलगायतसम्बन्धी काम भने एकीकृत जाँचचौकीबाट गरिरहेको छ।
भन्सार विभागले नेपालगन्ज भन्सार कार्यालयलाई चालु आर्थिक वर्ष २०८२/८३ का लागि २४ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। २०८२ साउनदेखि २०८३ असार ३ सम्म १८ अर्ब ६७ करोड ३६ लाख २० हजार रुपैयाँ संकलन भइसकेको कार्यालयले जनाएको छ। विभागले दिएको लक्ष्य पूरा गर्न कार्यालयले दैनिक रूपमा ६ देखि ७ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्छ।
प्रकाशित: ६ असार २०८३ ११:०६ शनिबार





