काठमाडौं जिल्ला अदालतको आदेशमा व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।
मंगलबार न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासमा भएको थुनछेक बहसपछि बीमा कसुरमा ७५ लाख र धितोपत्र कसुरमा २५ लाख धरौटीमा छाड्न आदेश भएको अदालतका सूचना अधिकारी शिव खतिवडाले बताए।
गोल्छा बैंक ग्यारेन्टी राखेर छुटेका हुन्। केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनका आधारमा गत जेठ २८ मा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो। यसअघि यो मुद्दामा दीपक भट्ट र सुलभ अग्रवालसँग पनि धरौटी माग गरिएको थियो।
प्रकाशित: १२ श्रावण २०८३ १९:१९ मंगलबार





