७ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

मासु उद्योगमा काम गर्ने ८८ विदेशीको व्यावसायिक भिसा रद्द, देश निकालाको प्रक्रिया सुरु

सिन्धुलीको मरिणमा निर्माणाधीन मासु प्रशोधन उद्योगमा कार्यरत ८८ जना विदेशी नागरिकको व्यावसायिक भिसा रद्द गरिएको छ।

अध्यागमन विभागका अनुसार नेपालमा व्यापारिक तथा औद्योगिक लगानीका लागि अनुमति लिएका उनीहरूले भिसामा उल्लेख गरिएको उद्देश्यविपरीत अन्य काम गरेको पाइएपछि भिसा रद्द गरिएको हो। भिसा रद्द गरिएकाहरूलाई नेपालबाट निष्कासन गर्ने प्रक्रिया समेत अघि बढाइएको विभागले जनाएको छ।

भिसा रद्द हुनेमा सिन्धुलीको मरिणमा निर्माणाधीन जियान फुड्स प्रालि अन्तर्गतको ‘नेपाल हिट प्रोसेस्ड बफेलो मिट एक्सपोर्ट टु चाइना प्रोजेक्ट’मा कार्यरत विदेशी नागरिकहरू रहेका छन्। उक्त परियोजना छेन्दु ट्यान फुड लिमिटेडको आर्थिक साझेदारीमा निर्माण भइरहेको जनाइएको छ।

अध्यागमन विभागका अनुसार उनीहरूले एउटा कम्पनीको नाममा व्यावसायिक भिसा लिएर नेपाल प्रवेश गरे पनि भिसाको उद्देश्यअनुसारको काम नगरेको पाइएको हो।

विभागले भिसाको उद्देश्यविपरीत गतिविधि गरेको निष्कर्षसहित उनीहरूको भिसा रद्द गरी निष्कासन प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रकाशित: ७ आश्विन २०८३ १९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App